काठमाडौं - प्रहरी प्रधान कार्यालयमा आज एक समारोहबिच प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले बढुवा भएका ५ जना प्रहरी अतिरिक्त महानिरीक्षकलाई दर्ज्यानी चिन्ह लगाइ दिनुभयो  । 
 
एआईजीमा बढुवा भई दर्ज्यानी चिन्ह लगाउनेहरुमा वसन्तबहादुर कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य छन् । उनीहरुलाई दुई साताअघि गृह मन्त्रालयमा बसेको बढुवा समितिको बैठकले एआईजीमा बढुवा गर्न सिफारिस गरेको थियो ।

सोमबार  बिहान बसेको मन्त्रिपरिषद्को बैठकले ५ जना प्रहरी नायब महानिरीक्षकलाई बढुवा गर्ने निर्णय गरेको हो ।

प्रहरीको ३० वर्षे सेवा अवधिको प्रावधान अनुसार हालका प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहको कार्यकाल यही चैत ११ सम्म रहनेछ । ३० वर्षे सेवा अवधिको प्रावधानमा हेरफेर नभए हाल एआईजीमा बढुवा भएका प्रहरी अधिकारीबाट नै भावी आईजीपी छानिनेछ ।