काठमाडौं - प्रहरीले काठमाडौं महानगरपालिका ६ स्थित बौद्ध स्तुपामा पुजा आजा गर्न आउने महिलालाई ठगी गर्ने एकजना महिलासहितको गिरोहलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा दोलखा जिल्ला मेलुङ्ग गाउपालिका ५ स्थायी वतन भई हाल काठमाडौं गोकर्णेश्वर नगरपालिका ७ दक्षिणढोका बस्ने वर्ष ४१ कि मन्जु मगर, काठमाडौं गोकर्णेश्वर नगरपालिका ६ नारायणटार घर भई कबिता ज्वेलर्स सञ्चालन गरी बस्ने वर्ष ४० को नमराज बिश्वकर्मा, गोकर्णेश्वर ६ नारायणटार घर भई इके भगवती ज्वेलर्स सञ्चालन गरी बस्ने वर्ष ३१ को राम कृष्ण सुनार रहेका छन् ।

स्तुपामा पुजा गर्न आएका एकल वृद्ध महिलाहरुलाई मगरले ललाई फकाइ एकान्त स्थनमा लगि सुनका गरगहना लुटपाट गर्ने गरेको भन्ने पिडितहरुको निवेदनको आधारमा प्रहरीले उनिहरुलाई पक्राउ गरेको हो । 

स्तुपा स्थित वर्ष ८४ कि बसुन लामालाई फकाइ लिएर हिँड्दै गरेको अवस्थामा प्रहरीले मगरलाई पक्राउ गरेको हो । प्रहरीले उनिहरुबाट गालेको अवस्थामा रहेको ७ तोला ५० लाल सुन बरामद गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख दान बहादुर कार्कीले बताउनु भयो ।