काठमाडौं - कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले ओखलढुंगालाई सगरमाथाका पहाडी जिल्लाको शैक्षिक केन्द्र बनाइने बताएका छन्।
सिद्धिचरण नगरपालिकामा मनमोहन तालिम केन्द्र भवनको शिलान्यास गर्दै मुख्यमन्त्री कार्कीले भने, ‘यो तालिम केन्द्रमा सोलु र खोटाङका विद्यार्थीहरू पनि आएर सिक्न, पढ्न सक्छन्, तीन जिल्लाको शैक्षिक केन्द्र बन्न सक्छ।’ मुख्यमन्त्री कार्कीले तालिम केन्द्रको भवन चाँडो निर्माण सक्न पनि निर्देशन दिए।
तालिम केन्द्रका लागि ७ करोड बराबरको डीपीआर निर्माण भई गत वर्षबाट बजेट समेत विनियोजन भएको थियो। गत वर्ष स्थानीय सरकारले चासो नदिएपछि बजेट खर्च हुन सकेन। यस वर्ष ५० लाख बजेट रहेको छ। यसअघि प्रदेश सरकारले मनमोहन प्राविधिक विश्वविद्यालयको आंगिक क्याम्पस स्थापना गर्न ओखलढुंगामा जग्गा समेत खरिद गरिसकेको थियो। सरकार परिर्वतन भएपछि रोकिएको काम अब सुरु हुने अपेक्षा गरिएको छ। जिल्लामा आंगिक क्याम्पस स्थापनाका लागि आवश्यक पूर्वाधारको तय गर्ने काम पूर्व मन्त्री अम्बीरबाबु गुरुङले थालेका थिए। उनको कार्यकालपछि थप पहल हुन सकेको छैन।
मुख्यमन्त्री कार्की अहिले उनकै पहलमा जिल्लाका विभिन्न योजना शिलान्यास तथा अनुगमनका लागि २ दिनदेखि ओखलढुंगामा छन्।
यसैबिच प्रदेशको नामकरणको विषयलाई लिएर आन्दोलनरत किरात राई यायोक्खा र नेपाल आदिवासी जनजाति महासंघ पक्षधरहरूले मुख्यमन्त्री कार्कीविरुद्ध नाराबाजी गर्दै कालो झण्डा देखाएर सडक अवरोध गर्ने प्रयास गरेका थिए।
मन्त्रीको गाडीको झण्डा निकालेर गाडीमा आक्रमण गर्न खोजे पनि प्रहरीले आन्दोलनकारीलाई हटाएको थियो।
आन्दोलनरत समुहले आइतबार पनि टायर बालेर एक घण्टा सिद्धिचरण राजमार्ग अवरोध गरेका थिए।
0 comment