काठमाडौं - ललितपुरको समृद्धी र सुशासनको आधार, सम्पदा, संस्कृतिको स्मार्ट सेवा र पुर्वाधार भन्ने नारासहित ललितपुर महानगरपालिका र राष्ट्रीय प्रकृति संरक्षण कोष, सदर चिडियाखाना जावलाखेलबिच आज जावलाखेल स्थित सदर चिडियाखानामा पाटेबाघको आहार ब्यवस्थापन सम्बन्धमा एक समझदारी पत्रमा हस्ताक्षर भएको छ । 

पाटेबाघको आहार ब्यवस्थापनको लागि ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले सदर चिडियाखानाका अधिकारीलाई १५ लाख रुपैयाँ रकमको चेक हस्तान्तरण गरे ।

उक्त रकम महानगरले चिडियाखानामा रहेको रोयल बङ्गाल टाइगर महाराजा नामको पाटे बाघको आहारा ब्यवस्थापनको लागि उपलब्ध गराएको हो । महानगरपालिकाले उपलब्ध गराएको रकम एक बर्षको लागि भएको जानकारी दिँदै यस्तो सहयोग गर्न पाउँदा खुशी लागेको मेयर चिरिबाबु महर्जनले बताए।

मेयर महर्जनले कोभिडको समयमा चिडियाखानाले भोग्नु परेको चरम आर्थिक अभावको बेलामा ललितपुर महानगरपालिकाले १० लाख रुपैयाँ सहयोग गरेको जानकारी पनि दिए । यस्तो काममा सबैबाट सहयोगको अपेक्षा रहेको उनले बताए ।