काठमाडौं - बाजुराको बुढीनन्दा क्याम्पसमा स्ववियु निर्वाचनका क्रममा झडप भएपछि प्रहरीले कम्तिमा २४ राउन्ड हवाई फाइर गरेको छ।

एकीकृत समाजवादी र नेकपा एमाले सम्बद्ध विद्यार्थीबीचको झडपमा एकीकृत समाजवादी सम्बद्ध विद्यार्थीले खुकुरी देखाएपछि निर्वाचन बिथोलिएको हो। यस क्रममा प्रहरीले कम्तिमा २४ राउन्ड हवाई फाइर गरेको छ। भीड नियन्त्रण गर्न अश्रु ग्यसासहित हवाई फायर गर्नुपरेको इलाका प्रहरी कार्यालय कोल्ठीका प्रहरी निरीक्षक सुरेश सिंहले जानकारी दिए।

दुई पक्षबीच सहमति गराउने प्रयास गरे पनि हुन नसकेको सिंहले बताए। 'दुई पक्षबीच सहमतिको प्रयास भइरहेको छ। तर उहाँहरूले मानिरहनुभएको छैन,' उनले भने।

प्रहरीले दावा गुरुङ नामका व्यक्तिलाई नियन्त्रण लिएको छ। 

बुढीनन्दामा ४१२ मतसंख्या रहेका छन्। जसमध्ये अहिलेसम्म ५३ मतमात्र खसेको छ। निर्वाचन बिथोल्ने प्रयासस्वरुप यस्तो कार्य भइरहेको विद्यार्थी नेताहरूले बताएका छन्। 

आज देशभरिका क्याम्सहरूमा १४ वर्षपछि स्ववियु निर्वाचन भइरहेको छ।