काठमाडौं - विराटनगरमा मुख्यमन्त्रीको कार्यालय अगाडि पुत्ला दहन गर्दै कोशी प्रदेश नामाकरणको विरोधमा प्रदर्शन भएको छ।
‘कोशी’ नाम खारेज गर्न माग गर्दै गरिएको प्रदर्शनका क्रममा स्थानीय प्रशासनले घोषणा गरेको निषेधित क्षेत्रमा प्रदर्शनकारी प्रवेश गरेपछी प्रहरीले अश्रुग्याँस र हवाइ फायर समेत गरेको थियो। निषेधाज्ञा क्षेत्रभित्र प्रवेश गर्न खोजेपछी प्रदर्शनकारी र प्रहरीबीच झडप भएको थियो। झडपका क्रममा चार जना प्रदर्शनकारी पक्राउ परेका छन्।
अश्रुग्याँस र हवाइ फायरले आक्रोशित प्रदर्शनकारीले मुख्यमन्त्री कार्यालय अगाडि मुख्यमन्त्री हिक्मतकुमार कार्कीको पुत्ला दहन गर्दै ढुंगामुडा समेत गरे। प्रदर्शनकारीले एमालेको विरुद्धमा पनि नाराबाजी गरे।
प्रदेश नम्बर १ पुनः नामकरण संयुक्त संघर्ष समितिको आयोजनामा महेन्द्र चोकबाट मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय छेउ प्रदर्शनकारी पुगेका थिए। जिल्ला प्रशासन कार्यालयले मुख्यमन्त्री कार्यालय आसपासको क्षेत्रलाई निषेधित क्षेत्र तोकेको थियो। उक्त क्षेत्रमा प्रदर्शनकारी जान खोजेपछि अश्रुग्याँस प्रहार गरिएको प्रहरीको दाबी छ। सो क्रममा केही राउण्ड हवाइ फायर समेत भएको प्रदर्शनकारीले बताए ।
0 comment