काठमाडौं - राष्ट्रपति रामचन्द्र पौडेलले काठमाडौंको वसन्तपुरस्थित कुमारी घर पुगेर जीवित देवी कुमारीको दर्शन गरेका छन्।
राष्ट्रप्रमुख भएपछि जीवित देवी कुमारीको दर्शन गर्न जाने परम्पराअनुसार राष्ट्रपति पौडेल दर्शन गरेका हुन्। वसन्तपुरस्थित कुमारी घर पुगेका राष्ट्रपति पौडेलले कुमारीको दर्शन गरी प्रसाद ग्रहण गरेका थिए। राष्ट्रपतिलाई कुमारी घरका अध्यक्ष गौतमरत्न शाक्य, प्रतिनिधिसभा सदस्य सपना राजभण्डारी, प्रदेशसभा सदस्य शैलेन्द्रमान बज्राचार्यलगायतले कुमारी घरमा स्वागत गरेका थिए।
राष्ट्रपति पौडेल कुमारीको दर्शन गर्न जाँदा सडक खाली नगराई गएका थिए।
यसअघि आजै कुमारी घरको प्रतिनिधिमण्डलले राष्ट्रपति निवास शीतलनिवास पुगेर राष्ट्रपति पौडेललाई बधाइ दिएको थियो। कुमारी घरमा हरेक महिनाको दशमीको दिन जीवित देवी कुमारीको पूजा हुने र एकादशीका दिन राष्ट्रप्रमुखसमक्ष सो पूजाको प्रसाद पुर्याउने परम्परा छ।
0 comment