काठमाडौं - सरकारले रासायनिक मलमा दिँदै आएको अनुदान कटौती गरेगरेपछी झापाका किसानहरूले विरोध प्रदर्शन गरेका छन्। 

शुक्रबार बिर्तामोडको मुक्ति चोकमा किसानहरूले शरीरमा मलको बोरा लगाएर शान्तिपूर्ण प्रदर्शन गरेका हुन्। प्रदर्शनकारीले बोरामा रासायनिक मलको अनुदान कटौती गरेको निर्णय तत्काल फिर्ता गर, किसानलाई समयमै मल खाद उपलब्ध गर, किसानको आँसुमा पौडी नखेल, बिना ब्याज बिना धितो कृषि ऋण उपलब्ध गर लगायत लिखित पम्प्लेट टाँसेका थिए।
 
राष्ट्रिय स्वतन्त्र पार्टी जिल्ला समिति झापाको आव्हानमा भएको प्रदर्शनमा जिल्लाभरिका किसानहरूले  सहभागिता जनाएको पार्टीका झापा सभापति उमेश खरेलले जानकारी दिए। र्‍यालीपछि आयोजित कोणसभामा खरेलले मल अनुदानको विषयमा किसानलाई पर्न गएको मार्काको विषयमा कतैबाट आवाज नउठाइएको बेला झापाबाट दबाबमूलक विरोधसहितको आन्दोलनको सुरुवात भएको बताए। 

कृषि बीमा निःशुल्क गर्न, ५० प्रतिशत भन्दा बढी अनुदान दिन, कृषि उत्पादन बढाउन र कृषि उद्योग स्थापना गर्नुपर्ने माग किसानको छ।

गत फागुन २९ गते कृषि तथा पशुपन्छी विकास मन्त्रालयको मल आपूर्ति तथा वितरण व्यवस्थापन समितिको बैठकले मलमा दिँदै आएको अनुदान घटाउने निर्णय गरेको थियो। 

रासायनिक मलमा यसअघि समग्रमा ७० दशमलव ८२ प्रतिशत बराबर अनुदान दिइरहेकोमा अब ५९ दशमलव ०४ प्रतिशत कायम गरिएको छ । कृषि मन्त्रालयले यो दरलाई क्रमशः ५० प्रतिशतमा झारिने समेत बताइएको छ ।

सरकारले मलको अनुदान कटौती गरेसँगै मलको बजार मूल्य पनि बढेको छ । अनुदान कटौतीपछि आयात बिन्दुमा युरिया प्रतिकिलो २५, डिएपी प्रतिकिलो ५० र पोटास प्रतिकिलो ४० मा बिक्री वितरण हुनेछ । यसअघि आयात बिन्दुमा युरिया प्रतिकिलो १४, डिएपी प्रतिकिलो ४३ र पोटास प्रतिकिलो ३१ मा बिक्री वितरण भइरहेको थियो । साबिकभन्दा अब युरिया प्रतिकिलो ११, डिएपी प्रतिकिलो ७ र पोटास प्रतिकिलो ९ रुपैयाँले महँगो पर्ने भएको छ ।