काठमाडौं – उपराष्ट्रपति चयनका लागि आज मतदान हुँदैछ ।
राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन अधिकृतको कार्यालयका अनुसार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म संसद् भवनको लोत्से हलमा मतदान हुनेछ । मतदानका लागि सम्पूर्ण तयारी पूरा भएको सहायक निर्वाचन अधिकृत अमृताकुमारी शर्माले जानकारी दिनुभएको छ । मतदानमा सङ्घीय संसद्का सदस्य र प्रदेश सभा सदस्यका लागि बेग्लाबेग्लै मतदान केन्द्र तय गरिएको छ ।
उपराष्ट्रपतिका पदका लागि एमालेकी अष्टलक्ष्मी शाक्य, जसपाका रामसहाय प्रसाद यादव र जनमतकी ममता झा चुनावी मैदानमा छन् । सत्तारुढ गठबन्धनबाटै तीनजनाको उम्मेदवारी परेकामा जसपाकी प्रमिलाकुमारी यादवले राम सहायललाई उपराष्ट्रपतिमा समर्थन गर्दै आफ्नो उम्मेदवारी फिर्ता लिएकी हुन् ।
मतदान सम्पन्न लगत्तै मतगणना सुरू गर्ने र साँझ ६ बजेभित्र निर्वाचनको परिणाम सार्वजनिक गर्ने आयोगको तयारी छ । उपराष्ट्रपति निर्वाचनमा सङ्घीय संसद्का सदस्यले रातो मसी र प्रदेशसभा सदस्यले मतदान गर्ने प्रयोजनका लागि हरियो मसीले मतपत्र छपाइ गरिएको छ ।
मतदाताले मतपत्रमा उम्मेदवारको तस्बिर र नाम अङ्कित रहेको कोठामा स्वस्तिक छाप लगाइ मतसङ्केत गर्नुपर्नेछ । स्वविवेक प्रयोग गरी मतदान गर्न निर्वाचक मण्डलका सदस्यहरूलाई आयोगले अनुरोध गरेको छ ।
यो निर्वाचनमा संघीय संसद्का सदस्य र प्रदेशसभाका सदस्य मतदाता रहेको निर्वाचक मण्डल रहने व्यवस्था राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन,२०७४ ले गरेको छ । संघीय सांसदको मतभार ७९ र प्रदेशसभा सदस्यको ४८ गणना हुन्छ ।
सङ्घीय संसद् सदस्यको मतभार ७९ र प्रदेश सभा सदस्यको मतभार ४८ कायम रहेको छ । सङ्घीय संसद्का तीन सय ३२ र प्रदेश सभाका पाँच सय ५० सांसद मतदाता रहेका छन् । राष्ट्रपतिको अनुपस्थितिमा राष्ट्रपतिबाट गरिने कार्य उपराष्ट्रपतिबाट सम्पादन गरिने संवैधानिक व्यवस्था छ । उपराष्ट्रपति मर्यादाका हिसाबले दोस्रो माथिल्लो पद हो । उपराष्ट्रपतिको पदावधि पाँच वर्षको हुनेछ । उपराष्ट्रपति पदका लागि यो तेस्रो चुनाव हुन लागेको हो । उपराष्ट्रपति नन्दबहादुर पुनको कार्यकाल आज सकिँदैछ । उहाँ हिजो नै निजी निवास चन्द्रागिरि नगरपालिका–१ दहचोक सर्नुभएको छ ।
0 comment