काठमाडौं - राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक किसान संगठनले रसायनिक मलमा दिँईदै आएको अनुदान कटौतीको विरोधमा प्रदर्शन गरेको छ।

रसायनिक मलमा दिँईदै आएको अनुदान कटौती गर्ने सरकारको निर्णय किसानको हितमा नभएको भन्दै उनीहरूले काठमाडौंको माइतिघरमा प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा सहभागीले हाम्रो खुसी अन्न र उपज, हाम्रो उत्पादनमा मलको सहज, खेत त जोगियो, मल बिउ कहाँ छ लगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए । उनीहरुले तत्काल सरकारले अनुदान कटौतीको निर्णय फिर्ता दिनुपर्ने माग गरेका छन् । 

चेकजाँच नगरी भारतीय तरकारी भित्राएर स्वदेशी किसानको उत्पादनलाई महत्व नदिने, रसायनिक मलको अनुदान कटौती गरेर स्वदेशी उत्पादनको मूल्यबृद्धि गर्ने काम तत्काल रोकिनुपर्ने राप्रपाको युवा संगठन राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका अध्यक्ष सुजित केसीले बताए। उनीहरुले सरकारको निर्णय फिर्ता नभए देशव्यापी आन्दोलन गर्ने चेतावनी दिएका छन् । 

सरकारले रासायनिक मलमा किसानलाई दिँदै आएको अनुदान समग्रमा ११.८ प्रतिशतले घटाउने निर्णय गरेको थियो । अनुदान कटौतीसँगै रासायनिक मलको मुल्य बढ्ने देखिएको छ । सरकारको यो निर्णयको चौतर्फी विरोध सुरू भएको छ।