काठमाडौं - सरकारले यती एयरलाइन्सको विमान दुर्घटना जाँच आयोगको म्याद ४५ दिन थप गरेको छ। 

मन्त्रिपरिषदको मंगलबारको बैठकले माघ १ गते पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा दुर्घटनामा परेको यति एयरको ATR 72, 9N-ANC विमान दुर्घटना जाँच आयोगको म्याद ४५ दिन थप्ने निर्णय गरेको हो। 

यसअघि जाँचबुझ आयोगले दुर्घटनाको प्रारम्भिक प्रतिवेदन तयार पारेको थियो। प्रारम्भिक प्रतिवेदनमा आयोगले फ्लाईट डाटा रेकर्डर र ककपिट भ्वाइस रेकर्डरको विश्लेषण र अनुसन्धानबाट दुर्घटनाग्रस्त 9N-ANC जहाज अवतरण गर्ने क्रममा बेस लेगमा दुवै इञ्जिनका प्रोपेलरहरू फेदरमा गएको देखिएको जनाएको छ। 

आयोगले सिंगापुरस्थित ट्रान्सपोर्ट सेफ्टी इन्भेष्टिगेसन ब्यूरोमा फ्लाईट डाटा रेकर्डर र ककपिट भ्वाइस रेकर्डर दुवैको डाटा विश्लेषण र अनुसन्धान गर्न आयोगका संयोजक, हवाई विज्ञ र सदस्य सचिवहरूलाई पठाएको थियो। आयोगको नेतृत्वमा TSIB Singapore, BEA France, TSB Canada, P & W Canada र EASA का प्रतिनिधिहरू समेतको सहभागितामा विभिन्न प्राविधिक तथा मानवीय पक्षको विश्लेषण गरिएको थियो। 

माघ १ गते आइतबार काठमाडौंबाट पोखराका लागि उडेको यती एयरलाइन्सको विमान पोखरा विमानस्थल अवतरणका क्रममा सेतीको खोँचमा दुर्घटना भएको थियो। विमानमा सवार चालक दलका ४ सदस्यसहित ६८ जना यात्रुको मृत्यु भएको थियो।