काठमाडौं - अनलाइनमार्फत ठगी गरेको अभियोगमा एक जना युवती पक्राउ परेकी छन्।
पक्राउ पर्नेमा ललितपुरको महालक्ष्मी नगरपालिका–१ की ३६ वर्षीया अञ्जली विशुंखे रहेकी छन्।
विशुंखेले सामाजिक सञ्जाल टिकटकबाट एक युवतीलाई फ्रेण्ड रिक्वेस्ट पठाई आफू इंगल्याण्डको नागरिक फ्रयांकलिन पाउल रहेको र नेपाल आई विवाह गरेर इंगल्याण्ड लैजाने भन्दै १५ लाख २० हजार रुपैयाँ ठगी गरेको देखिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी सोमेन्द्रसिंह राठौरले जानकारी दिए।
इंग्ल्याण्डका पुरुषको नाममा टिकटक आईडी बनाएर उनले नेपाली युवतीलाई नै ठगी गरेकी हुन्। विशुंखेले पीडितलाई तिम्रो नाममा जुत्ता, ब्याग, आईफोन, सुनका गहनाहरू ७० हजार अमेरिकी डलरको लगेज पठाएको छु भन्दै कुरियरले सम्पर्क गर्छ भनेर झुक्याएको पनि प्रहरीले जनाएको छ।
उनले पीडितसँग पार्सलको डेलिभरी चार्ज, भन्सार शुल्क, बीमा शुल्क आदिको रकम भन्दै १५ लाख २० हजार रुपैयाँ पठाउन लगाएर ठगी गरेको एसपी राठौरले बताए।
पक्राउ परेकी उनलाई ठगीसम्बन्धी कसुरमा अनुसन्धान एवं कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको छ।
0 comment