काठमाडौं - सन् २०२३ को ओस्कारमा भारतले दुईवटा अवार्ड पाएको छ । 

निर्देशक एसएस राजामौलीको फिल्म आरआरआरको गीत ‘नाटु–नाटु’ ले ‘बेस्ट ओरिजिनल गीत’ विधामा ओस्कार अवार्ड जितेको छ भने ‘द एलिफन्ट व्हिस्पर्स’ ले उत्कृष्ट सर्ट फिल्मको लागि ओस्कार अवार्ड जितेको छ।

'नाटु-नाटु' ओस्कार जित्ने पहिलो भारतीय प्रोडक्सनले बनाएको गीत हो। संगीतकार एमएम किरावाणीले अवार्ड जितेपछि एकेडेमी अवार्डलाई धन्यवाद दिँदै भने, ‘म सिकर्मीहरुको कुरा सुनेर हुर्केको मान्छेले आज ओस्कार जितेको छु ।' ओस्कार अवार्डको स्टेजमा नाटु–नाटु गीत पनि प्रस्तुत गरिएको थियो, जसलाई दर्शकले निकै रुचाएका थिए ।

उक्त समारोहमा हलिउड अभिनेता ब्रान्डन फ्रेजरले उत्कृष्ट अभिनेताको ओस्कार अवार्ड पाएका छन्। उनलाई फिल्म ‘द व्हेल’ मा गरेको अभिनयका लागि उत्कृष्ट अभिनेताको अवार्ड दिइएको हो ।
 
त्यस्तै मलेसियाली अभिनेत्री मिशेल योले उत्कृष्ट अभिनेत्रीको अवार्ड प्राप्त गरेकी छन्। उनलाई फिल्म ‘एभरिथिङ एभरिवेयर अल एट वन्स’ मा गरेको अभिनयका लागि उत्कृष्ट अभिनेत्रीको अवार्ड दिइएको हो ।