काठमाडौं - वीरगन्ज महानगरपालिकाले ५ विघाभन्दा बढी अतिक्रमित सार्वजनिक जग्गा आफ्नो अधिनमा ल्याएको छ ।
महानगरको वडा नम्बर १७ र १९ को सीमामा रहेको कोनियाँ गाउँमा स्थानीय केही व्यक्तिले अतिक्रमण गरेर कब्जामा राखेको जग्गा महानगरले आफ्नो अधिनमा ल्याएको हो । महानगरको टोलीले नापचाँज गरेर सार्वजनिक र नीजि जग्गा छुट्याएर सार्वजनिक जग्गामा सोमबारदेखि तारबार लगाउने काम समेत सुरू गरेको छ । उक्त जग्गामा तारबारपछि वृक्षारोपण गर्ने योजना रहेको महानगरका मेयर राजेशमान सिंहले बताए ।
सार्वजनिक तथा ऐलानी जग्गा केहि व्याक्तिहरूले अतिक्रण गरी नीजि प्रयोजनमा प्रयोग गर्दै आएको सूचना पाएपछि महानगरको टोली नक्सा लिएरै कोनियाँ गाउँ पुगेको थियो । अतिक्रमित जग्गा वडा नम्बर १७ का वडासदस्य अमोद यादवसहित केही स्थानीयले भोगचलन गर्दै आएका थिए । यादव एक्लैले आफ्नो नाममा रहेको ७ कट्ठा जग्गाको आडैमा रहेको ४ विघा सार्वजनिक जग्गा अतिक्रमण गरी नीजि प्रयोजनमा प्रयोग गर्दै आएको वडा नम्बर १९ का वडाध्यक्ष मुकेश कुमार चौरसियाले बताए । अतिक्रमण गरेको सार्वजनिक जग्गा छुट्याउन दिनभर नापजाँच गरेर छुट्याउनुका साथै डोजर लगाएर सीमा छुट्याउने काम गरिएको उनले जानकारी दिए ।
मेयर सिंहले महानगरक्षेत्रभित्र रहेका सार्वजनिक जग्गा पहिचान गरी महानगर माताहातमा ल्याउन अभियान अगाडि बढाएसँगै वडा नम्बर १७ को ५ विघा जग्गा आफ्नो अधिनमा ल्याउन सफल भएको बताए । अहिले महानगरसँग आफ्नो क्षेत्रमा रहेका सार्वजनिक जग्गा कति छ भन्ने कुनै पनि तथ्यांक नरहँदा खोजिमा कठिनाइ भइरहेको भए पनि अभियान सफल पार्न टोली दिनहुँ खटिएको पनि उनले जानकारी दिए ।
महानगरमा अतिक्रमण भएको ५ विघाभन्दा बढी जग्गा एकैपटक अधिनमा ल्याएको यो पहिलो घटना हो । ‘हामीले आज ठूलो सफलता प्राप्त गरेका छौँ,'मेयर सिंहले भने,‘अतिक्रमणमा परेको यति धेरै जग्गा एकै पटक हामिले शान्तिपूर्ण रुपमा आफ्नो अधिनमा ल्याएको पहिलो पटक हो ।’
यो अभियान महानगरका ३२ वटै वडामा सञ्चालन हुने पनि उनले बताए । हरेक वडामा रहेका सार्वजनिक जग्गा तथा सम्पत्तिको अभिलेखिकरण गरेर राख्न र आवश्यकता अनुसार प्रयोग गर्न महानगरले खोजी अभियान अघि बढाएको पनि मेयर सिंहले बताए ।
0 comment