काठमाडौं - नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । 

कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले सोमबार राष्ट्रपति कार्यालय, शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेललाई शपथ गराएका हुन्। समारोहमा निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, राष्ट्रियसभा अध्यक्ष, पूर्वराष्ट्रपति डा. रामवरण यादव, पूर्वप्रधानमन्त्रीहरु र मन्त्रिपरिषद्का पूर्वअध्यक्ष लगायत सहभागी सहभागी थिए। यसैगरी, समारोहमा उपप्रधानमन्त्री, मन्त्रिगण, सांसद, संवैधानिक निकायका प्रमुखहरु, सरकारका विशिष्ट श्रेणीका कर्मचारी, सुरक्षा निकायका प्रमुखहरू, नेपालस्थित कूटनीतिक नियोगका प्रतिनिधि, विभिन्न राजनीतिक दलका नेताहरु, सञ्चारकर्मी लगायतको सहभागीता थियो। 

शपथ ग्रहणपछि राष्ट्रपति पौडेललाई निवर्तमान राष्ट्रपति भण्डारी, उपराष्ट्रपति पुन, प्रधानमन्त्री दाहाल, पूर्वप्रधानमन्त्रीहरु लगायतले बधाइ दिएका थिए। 

राष्ट्रपतिका लागि गत फागुन २५ गते बिहीबार भएको निर्वाचनमा पौडेल गणतन्त्र नेपालको तेस्रो राष्ट्रपतिको रुपमा निर्वाचत भएका हुन्।  नेकपा एमालेका उम्‍मेदवार सुवास नेम्बाङलाई १८ हजार २८४ मतले पराजित गर्दै पौडेल राष्ट्रपतिमा निर्वाचित भएका हुन्। उनले ३३ हजार ८०२ मतभार प्राप्‍त गरेका थिए भने उनका प्रतिस्प्रधी एमालेका नेम्बाङले १५ हजार ५१८ मतभार प्राप्त गरेका थिए।

उनका कार्याकाल पाँच वर्षको हुनेछ।

सोही समारोहमा राष्ट्रपति पौडेल र प्रधानमन्त्री प्रचण्डले निवर्तमान राष्ट्रपति भण्डारीलाई बिदाइ गरे।

निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले शीतलनिवास छोडेकी छन्। नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई पद हस्तान्तरण गरेपछि राष्ट्रपति भण्डारी शीतलनिवासबाट बाहिरिएकी हुन्। राष्ट्रपति पौडेलले पद तथा गोपनीयताको शपथ ग्रहण गरेलगत्तै निवर्तमान राष्ट्रपति भण्डारी शपथग्रहण समारोहबाट बाहिरिएकी हुन्। दुई कार्यकाल राष्ट्रपतिको रुपमा सरकारी निवासमा बिताएकी भण्डारी करिब ७ वर्षपछि सोमबार आफ्नी नीजि निवास सरेकी हुन्। 

२०७४ साल फागुन २९ गते भण्डारी दोस्रो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित भएकी थिइन। उनको पाँच वर्षीय कार्यकाल हिजो पूरा भएको छ। राष्ट्रपति भण्डारीले आइतबार कार्यकालको अन्तिम दिन राष्ट्रपति भवन शीतलनिवासमा राजनीतिक दलका शीर्ष नेताहरूसँग सामूहिक भेट गरेकी थिइन्। सो अवसरमा राष्ट्रपति भण्डारीले आफ्नो कार्यकाल पूरा गर्न सहयोग गरेकोमा प्रधानमन्त्री,राजनीतिक नेतृत्व र सम्बद्ध सबैलाई धन्यावाद दिएकी थिइन्।