काठमाडौं – नेपाली कांग्रेसका वरिष्ठ नेता एवं पूर्वसभामुख पौडेल यही फागुन २५ गते राष्ट्रपति पदमा निर्वाचित भए पछि आज पद तथा गोपनीयताको शपथ लिने भएका छन् । 

राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा दिउँसो १ बजे पौडेलले कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीसमक्ष राष्ट्रपति पदको शपथ ग्रहण गर्ने कार्यक्रम तय भएको छ । पौडेलको शपथ ग्रहणपछि उनको औपचारिक पदावधि सुरू हुनेछ ।

नेपालको संविधानमा राष्ट्रपतिले आफ्नो कार्यभार सम्हाल्नु अघि संघीय कानुनबमोजिम प्रधानन्यायाधीशसमक्ष पद तथा गोपनीयताको शपथ लिनुपर्ने व्यवस्था छ, तर हाल प्रधानन्यायाधीश नियुक्त नभएकाले कायममुकायम प्रधानन्यायाधीश कार्कीले शपथ खुवाउनेछन् ।

पौडेलले आफ्ना प्रतिस्पर्धी नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वसभामुख सुवासचन्द्र नेम्वाङलाई दोब्बरभन्दा बढी मतले पराजित गरेका थिए।  मतदानमा पौडेलले ३३ हजार आठ सय दुई र नेम्वाङले १५ हजार पाँच सय १८ मतभार प्राप्त गरेका थिए ।

यसैबिच नवनिर्वाचित राष्ट्रपति पौडेल नेपाली कांग्रेसबाट अलग भएका छन् । पौडेलले आइतबार कांग्रेसबाट अलग भएको जानकारी कांग्रेस केन्द्रीय कार्यालयलाई गराएका थिए । पौडेलले आफू राष्ट्रपतिमा निर्वाचित भएपछि पार्टी सदस्यबाट अलग भएको जानकारी गराएका हुन् ।

वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल आज सकिँदैछ।