काठमाडौं - महोत्तरीको बर्दिवास नगरपालिकामा जग्गाको कित्ताकाट खुलाउने तयारी अन्तिम चरणमा पुगेको छ। 

जग्गाको कित्ताकाट खुलाउन जग्गा वर्गीकरणको काम सम्पन्न भएसँगै नगरपालिकाभित्र जग्गाको कित्ताकाट खुलाउने तयारी अन्तिम चरणमा पुगेको मेयर प्रह्लादकुमार क्षेत्रीले बताए। उनका अनुसार नगरपालिकाको ११ लाख ६४ हजार बजेटमा सेवा प्रदायक कम्पनी स्मार्ट सिटी विल्डर्सले जग्गाको वर्गीकरण गरेको हो।

सेवा प्रदायक कम्पनीले हस्तान्तरण गरेको उक्त जग्गा वर्गीकरण प्रतिवेदनलाई शुक्रबार बसेको नगरपालिकाको कार्यपालिका बैठकले अनुमोदन गरेको छ। कार्यपालिकाको निर्णयसहित आइतबार राजपत्रमा प्रकाशित गरेर केन्द्रीय नापी कार्यालयमा पठाउने तयारी रहेको नगरप्रमुख क्षेत्रीले सुनाए। 

जग्गा वर्गीकरण गरी कित्ताकाट प्रक्रियामा बर्दिवास नगरपालिका मधेश प्रदेशकै पहिलो पालिका बनेको नगरप्रमुख क्षेत्रीले दाबी गरे। 

गत जेठ २७ गते भू-उपयोग ऐन २०७६ र भू-उपयोग नियामवली २०७९ ले व्यवस्था गरे अनुसार नेपाल सरकारको मन्त्रिपरिषदले निर्णय गरी नगरक्षेत्र भित्रको भूमिको भू-उपयोग वर्गीकरण गर्नका लागि पत्राचार गरेको थियो। प्रक्रिया पूरा हुना साथ तुरुन्त कित्ताकाट गरेर बैंक कर्जा तथा जग्गा किनबेच गर्न सक्ने उनको भनाइ छ। लामो समयदेखि जग्गा वर्गीकरणकै अभावमा कित्ताकाट रोकिएको बेला बर्दिवास नगरपालिकाले जग्गालाई विभिन्न १० क्षेत्रमा वर्गीकरण गरेको छ। 

व्यवसायिक क्षेत्र, आवासीय क्षेत्र, कृषि क्षेत्र, सार्वजनिक उपयोगको क्षेत्र, कला संस्कृति तथा पुरातात्विक क्षेत्र, औधोगिक क्षेत्र, खानी तथा खनिज क्षेत्र, वन क्षेत्र, नदी, खोला, ताल तथा सिमसार क्षेत्र र नेपाल सरकारबाट तोकिएको अन्य क्षेत्र गरी नगरभरीको जग्गालाई १० भागमा विभाजन गरिएको नगरप्रमुख क्षेत्रीले बताए।

जग्गा वर्गीकरण वैज्ञानिक ढंगबाट गरिएकाले कित्ताकाटमा कुनै समस्या नआउने सेवा प्रदायक कम्पनी विल्डर्सको दाबी छ।