काठमाडौं - गृह मन्त्रालयले नेपाल प्रहरीमा अतिरिक्त महानिरिक्षक पदमा बढुवाको तयारी थालेको छ ।
राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन आचारसंहिताका कारण गृह मन्त्रालयले अतिरिक्त महानिरिक्षक पदमा बढुवा गर्न आयोगसँग अनुमति मागेको थियो । बिहिबार आयोगबाट बढुवा सिफारिस गर्न अनुमति आएको गृह मन्त्रालयका एकजना उच्च अधिकारीले बताए ।
एआइजी विश्वराज पोखरेल, रबिन्द्र धानुक, अरुण कुमार बिसि, मुकुन्द प्रसाद आचार्य र पुजा सिंह अवकासमा गएपछि प्रहरीमा ५ प्रहरी अतिरिक्त महानिरिक्षकको पद रिक्त छ ।
फागुन ७ बाट एआईजी पुजा सिंहले अवकाश पाएपछि रिक्त एआईजीको दरबन्दी ५ पुगेको हो । आयोगको अनुमतिसँगै मन्त्रालयले रिक्त पदमा बढुवाको तयारी थालेको हो ।
प्रहरी नायव महानिरीक्षक बसन्त बहादुर कुँवर, टेक प्रसाद राई, दिपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य बढुवा प्रतिस्पर्धामा आगाडी छन् । एआईजीमा बढुवाका प्रतिस्पर्धीहरु २०५१ चैत ५ मा प्रहरीमा प्रवेश गरेका थिए । प्रतिस्पर्धी मध्येका दिपक थापा २०५२ भदौ १९ मा प्रहरीमा प्रवेश गरेका हुन् ।
प्रतिस्पर्धीहरु मध्येमा जो एक नम्बरमा अतिरिक्त महानिरिक्षकमा बढुवा हुनेछन् तिनै १५ दिनपछि महानिरिक्षक हुने संभावना बलियो हुन्छ । डिआईजी बसन्त बहादुर कुँवर एक नम्बरमा छन् । दुई नम्बरमा टेक प्रसाद राई छन् भने डिआइजी अशोक सिंहले राजिनामा दिएपछी चौथौ नम्बरमा रहेका दिपक थापा तेस्रो नम्बरमा उक्लेका छन् ।
यसअघि लिस्टको तेस्रो नम्बरका डिआईजी अशोक सिंह थिए । सिंहले जन्ममिति विवादका कारण राजिनामा दिएका थिए । गृह मन्त्रालयले उनको राजिनामा स्विकृत गरिसकेको छ ।
प्रहरी महानिरिक्षक धिरज प्रताप सिंहसँगै उनका ब्याचमेट ३ जना डिआइजीबाटै २०७९ चैत ११ मा अवकाशमा जाँदै छन् ।
0 comment