काठमाडौं – पुङर लेकमा यतिवेला सिँचाइका लागि पक्की नहर निर्माणको काम भइरहेको छ । नहरमा ज्यालादारी काम गर्न हरेक परिवारको सक्दो उपस्थिति उत्तिकै देखिन्छ । परिवारमा कम सदस्य हुनेहरुको बालबालिकाले उक्त कामको लागि सहयोग गरिरहेका छन् । विद्यालय बिदाको दिनमा कहिले बालबालिका त कहिले अभिभावक श्रममा जाने गरेको एक स्थानीयले बताए ।

गाउँमा केही योजना आएको बेलामा घर खर्च निकाल्न सजिलो हुने भन्दै स्थानीय बालबालिकाको बिदाको समय कुर्दछन् । घरमा कम सदस्य हुनेले वस्तुभाउलाई पानी खुवाउने मान्छे समेत नपाउने भएकाले काम गर्न सक्दैैनन्। बालबालिकाको बिदाको दिनमा भने घरको काममा बाधा नहुने भएकाले उनीहरुले बालबालिकाको बिदाको समय कुर्ने गरेका हुन् ।

बझाङमा विद्यालय बिदा हुँदा बालबालिकाहरु गिट्टी कुट्छन्। घरको वस्तुभाउको घाँसपातको काम गरेर बिदाको दिनमा दैनिक एक–दुई बोरा गिट्टी फुटाउने गरेको बालबालिका बताउँछन् । एक कट्टा गिट्टीको एक सय रूपैयाँ पर्छ। विद्यालय खुलेको समय पढ्ने र बाँकी समय घरायसी काममा सहयोग गर्ने गरेको बालबालिका बताउँछन् ।

गिट्टी कुटेको पैसाले घरमा नुनतेल र आफ्नो लागी कापीकलम किन्ने गरेको एक बालिकाले बताईन्। नहरमा मात्रै होइन, हरेक कामका लागि उमेर पुगेकालाई मात्रै लगाइन्छ। उनी भन्छिन्, ‘हामी सानो मान्छेलाई काम गर्न गए पनि पैसा दिँदैनन्, त्यसैले जाँदैनौँ। बरू एक कट्टा गिट्टी कुटे त्यसको पैसा आउँछ।’