काठमाडौं : नेकपा माओवादी धाराका राजनीतिक दलहरूबीचको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरू भएको छ ।  प्रधानमन्त्री प्रचण्डमाथि सर्वोच्च अदालतमा जनयुद्धकालीन विषयमा रिट परेपछि माओवादी धारका दलको बैठक यसअघि पनि भएको थियो । 

उक्त बैठकमा प्रधानमन्त्री प्रचण्डलगायत, नेकपा क्रान्तिकारी माओवादीका नेता सिपी गजुरेल, नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव, वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीका महासचिव विश्वभक्त दुलाल ’आहुती’, नेकपा माओवादी समाजवादीका अध्यक्ष कर्णजीत बुढाथोकी, नेकपा बहुमतका नेता हेमन्तप्रकाश ओली सहभागी भएका छन् ।

सर्वोच्च प्रशासनको दरपिठ गर्ने निर्णयविरुद्ध अधिवक्ताद्वयले कात्तिक २५ गते सिधै सर्वोच्चको इजलासमा निवेदन दिएपछि न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र हरिप्रसाद फुयालको संयुक्त इजलासले सर्वोच्च अदालत प्रशासनलाई  प्रचण्डको अभिव्यक्तिविरुद्ध पेस भएको रिट दर्ता गर्न शुक्रबार आदेश दिएपछि माओवादी वृत यतीबेला तरङ्गित भएको छ । 

१ माघ २०७६ मा माघीका अवसरमा टुँडिखेलमा आयोजित कार्यक्रममा प्रचण्डले युद्धमा १७ हजार मारिएका र त्यसमध्ये ५ हजार माओवादीले मारेको र त्यसको जिम्मा आफूले लिने अभिव्यक्ति दिएका थिए । त्यही अभिव्यक्तिलाई लिएर प्रचण्डविरूद्ध छानबिन गरी कारबाही गर्नुपर्ने माग गर्दै अधिवक्ता आरण र बुढाथोकी रिट लिएर सर्वोच्च अदालत पुगेका हुन् ।