काठमाडौं – बेनीमा लागू औषधसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

यसरी पक्राउ पर्नेमा रघुगंगा गाउँपालिका–७ का २८ वर्षीया सोबिता बागदास र बेनपा–९ घतानका ३२ वर्षीय प्रेम सार्की रहेका छन् । 
उनीहरूलाई जिल्ला प्रहरी कार्यालयले बिहीबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । बागदास र सार्की म्याग्दीको सदरमुकाम बेनी बजारसँगै सिमाना जोडिएको पर्वतको जलजला गाउँपालिका–३ मा बस्दै आएका थिए । 

प्रहरीले उनीहरूको साथबाट २०० एम्पुल डाईजोपाम, २०१ एम्पुल फेनेरागन र २०० एम्पुल नुर्फिन बरामद गरेको छ ।   
उनीहरूले भारतको सिमानाबाट लागूपदार्थ ल्याएर म्याग्दीको विभिन्न ठाउँमा बिक्री गर्ने गरेको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको प्रनाउ कुँवरले बताए । 
‘प्रहरीले पछिल्लो तीन वर्षयता उनीहरूबाट ठूलो परिणाममा लागूऔषध बरामद भएको छ,’ उनले भने ‘जिल्ला अदालत म्याग्दीबाट १० दिनको म्याद थप गरेर अनुसन्धानका लागि हिरासतमा राखिएको छ ।’ 

फागुन १६ गते बेनी नगरपालिका ८ कालीपुलबाट भारतको बगनग्राम माल्हादा पश्चिम घर भई हाल पोखरा बस्ने २८ वर्षीय अलेमुन हकलाई ६.५ ग्राम खैरो हिरोइनसहित पक्राउ गरेको प्रनाउ कुँवरले बताए ।  

आर्थिक वर्ष २०७८/७९ मा लागूऔषधका दुईवटा मुद्दामा ४ जना, २०७७÷७८ मा ६ वटा मुद्दामा ७ जना र २०७६÷७७ मा ९ वटा मुद्दामा ११ जना पक्राउ परेका थिए । 
यस्तैगरी २०७६/७७ मा १०९ एम्पुल डाईजापाम, १०९ एम्पुल फेनेरागन, १११ एम्पुल नुर्फिन, ४ थान सिरिन्ज, १४२ ग्राम चरेश, ७ किलो ९५० ग्राम गाँजा बरामद भएको थियो ।