काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ विरूद्ध अधिवक्ता ज्ञानेन्द्रराज र कल्याण बुढाथोकीले मंगलबार दायर गरेको रिटमा सर्वोच्च अदालतमा आज सुनुवाइ हुने भएको छ ।

अधिवक्ता आरण र बुढाथोकीले द्वन्द्वकालीन मुद्दालाई लिएर प्रचण्डविरूद्ध फौजदारी अभियोगमा छानबिन र कारवाही हुनुपर्ने आदेश माग गर्दै सर्वोच्चमा रिट दायर गरेका छन् ।

उनीहरुले ‘प्रचण्ड’विरुद्ध दायर गरेको रिट सर्वोच्च अदालतका रजिष्ट्रारले दर्ता गर्न नमिल्ने भन्दै दरपीठ गरिदिएको थियो । त्यसपछि सर्वोच्च प्रशासनको दरपिठ गर्ने निर्णयविरुद्ध अधिवक्ताद्वयले सिधै सर्वोच्चको इजलासमा निवेदन दिएका थिए । 

१ माघ २०७६ मा माघीका अवसरमा टुँडिखेलमा आयोजित कार्यक्रममा प्रचण्डले युद्धमा १७ हजार मारिएका र त्यसमध्ये ५ हजार माओवादीले मारेको र त्यसको जिम्मा आफूले लिने अभिव्यक्ति दिएका थिए । त्यही अभिव्यक्तिलाई लिएर प्रचण्डविरूद्ध छानबिन गरी कारबाही गर्नुपर्ने माग गर्दै अधिवक्ता आरण र बुढाथोकी रिट लिएर सर्वोच्च गएका थिए ।

गत शुक्रबार न्यायायाधीश ईश्वर खतिवडा र हरिप्रसाद फुयालको संयुक्त इजलासले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डविरुद्ध अदालतमा मुद्दा दर्ता गर्न सर्वोच्च प्रशासनलाई आदेश दिएको थियो ।
अधिवक्ता आरणका बुवा टीकाराजलाई तत्कालीन विद्रोहीले अपहरण गरी हत्या गरेका थिए। त्यस्तै अधिवक्ता बुढाथोकीका बुवा भुवानसिंह विस्थापित बनाएका थिए । 
प्रचण्डविरुद्धको रिटमा प्रारम्भिक सुनुवाइका लागि बिहीबारलाई पेशी तोकिए लगत्तै यस विषयमा बुधवार ८ दलको बैठकमा छलफल हुने स्रोतले जनाएको थियो ।
प्रचण्डविरूद्ध रिट दायर भएपछि माओवादी धारका पार्टीहरूले विरोध जनाएका छन् ।