काठमाडौं - नेपालको इतिहासमा पहिलो पटक महिला पाइलटले अन्तर्राष्ट्रिय उडान भरेर नयाँ इतिहास कायम गरेका छन्।
आज काठमाडौं–दुबई–काठमाडौं उडान भरेको राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को पाइलटद्वय भावना पन्त र को–पाइलट सृजना राउतको टोलीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती र नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा महिला विमान चालक दललाई स्वागत गरे।
पर्यटनमन्त्री किरातीले नेपालको उड्डयन क्षेत्रको इतिहासमा पहिलो पटक महिला पाइलटले अन्तर्राष्ट्रिय उडान भरेर नयाँ इतिहास कायम गरेको बताए। महिलाको अन्तर्राष्ट्रिय उडानले पर्यटन मात्र नभएर मुलुकको समग्र क्षेत्रमा सकारात्मक सन्देश दिएको उनले उल्लेख गरे । “आज ११३ औँ विश्व महिला दिवस, नेपालको इतिहासमा पहिलोचोटि महिलाले अन्तर्राष्ट्रिय उडान भरेको ऐतिहासिक क्षण भएकाले म उहाँहरूलाई स्वागत तथा बधाई दिन र उहाँहरूको मनोबल उच्च बनाउन विमानस्थल गएको हुँ”,'पर्यटनमन्त्री किरातीले भने। यो उडानमार्फत महिलाले देश र समाजका लागि केही गर्न सक्छन् भन्ने प्रमाणित भएको मन्त्री किरातीले उल्लेख गरे।
पाइलटद्वय भावना पन्त र को–पाइलट सृजना राउतको टोलीले काठमाडौं–दुबई–काठमाडौं उडान भरेको निगमका सहायक प्रवक्ता गणेशकुमार घिमिरेले जानकारी दिए। उनका अनुसार महिला चालक दलले आज निगमको एयरबस ‘ए’ ३२० जहाज दुबईबाट काठमाडौंको उडान भरेका हुन् । गत फागुन २० गते राति ११ बजे महिला चालक दलले काठमाडौँबाट दुबईका लागि उडान भरेका थिए ।
महिला चालक दलले उडान भरेको आजको दुबई–काठमाडौं उडानका सबै क्रू मेम्बर समेत महिला रहेको निगमले जनाएको छ । उडानमा कमाण्डर पाइलट भावना गिरी पन्त, को पाइलट श्रृजना रावत, आइएफएस बास्ना राना, पर्सर अन्जक महर्जन, एयर होस्टेस संगीता केसी र अनिशा प्रजापति रहेका थिए।
आन्तरिक र अन्तर्राष्ट्रिय गरी ६ जना महिला पाइलट रहेको निगमले आफ्नो उडान इतिहासमै पहिलो पटक महिला पाइलटले अन्तर्राष्ट्रिय उडान भरेको जनाएको छ । आज अन्तर्राष्ट्रिय महिला दिवसका दिनमा निगमले यो संयोग जुराएको हो ।
0 comment