काठमाडौं - सिंहदरबारमा आठ दलीय गठबन्धनको बैठक जारी छ । सिंहदरबारस्थित नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा जारी बैठक राष्ट्रपति निर्वाचन, समसामयिक विषयमा केन्द्रित रहनेछ ।

यता प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ विरूद्ध आजै सर्वोच्च अदालतमा मुद्दा दायर भएको छ । प्रचण्डविरुद्धको रिटमा प्रारम्भिक सुनुवाइका लागि बिहीबारलाई पेशी तोकिएको सर्वोच्च प्रशासनले जनाएको छ । यस विषयमा पनि आजको ८ दलको बैठकमा छलफल हुने स्रोतले जनाएको छ ।

राष्ट्रपति निर्वाचन फागुन २५ गते हुँदैछ । आठ दलले साझा उम्मेदवारका रुपमा कांग्रेस नेता रामचन्द्र पौडेललाई बनाएको छ । ९ दलको आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकले जनताको त्याग र बलिदानबाट प्राप्त संविधान र लोकतान्त्रिक गणतन्त्रको मर्म तथा भावना विपरित काम भएको भन्दै त्यसविरुद्ध एक जुट हुने निर्णय गरेको थियो ।