काठमाडौं - प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ विरूद्ध रिटमा सर्वोच्च अदालतमा बिहीबार सुनुवाइ हुने भएको छ । रिटमा प्रारम्भिक सुनुवाइका लागि बिहीबारलाई पेशी तोकिएको सर्वोच्च प्रशासनले जनाएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहालले ३ वर्षअघि दिएको अभिव्यक्तिलाई लिएर सर्वोच्च अदालतमा आज रिट दर्ता भएको हो । दाहालविरुद्ध द्वन्द्वकालीन मुद्दालाई लिएर सर्वोच्च अदालतमा मुद्दा दर्ता भएको हो । अधिवक्ता ज्ञानेन्द्रराज आरण र कल्याण बुढाथोकीसहितका व्यक्तिहरूले दाहालविरुद्ध दिएका २ वटा रिट मंगलबार सर्वोच्च प्रशासनमा दर्ता भएको हो ।
अधिवक्ता आरणले द्वन्द्वकालीन मुद्दालाई लिएर प्रचण्डविरूद्ध फौजदारी अभियोगमा छानबिन र कारवाही हुनुपर्ने आदेश माग गर्दै सर्वोच्चमा रिट दिएका हुन् ।
सर्वोच्च अदालतका सह प्रवक्ता देवेन्द्र ढकालले अधिवक्ता आरणले प्रचण्डविरूद्ध दिएको रिट दर्ता भएको र बिहीबारका लागि पेशी तय भएको जानकारी दिएका छन् ।
१ माघ २०७६ मा माघीका अवसरमा टुँडिखेलमा आयोजित कार्यक्रममा प्रचण्डले युद्धमा १७ हजार मारिएका र त्यसमध्ये ५ हजार माओवादीले मारेको र त्यसको जिम्मा आफूले लिने अभिव्यक्ति दिएका थिए । त्यही अभिव्यक्तिलाई लिएर प्रचण्डविरूद्ध छानबिन गरी कारबाही गर्नुपर्ने माग गर्दै अधिवक्ता आरण र बुढाथोकी रिट लिएर सर्वोच्च गएका थिए ।
0 comment