काठमाडौं – फागुपूर्णिमा अर्थात होली पर्व आज तराईका जिल्लामा हर्षोल्लासका साथ एकआपसमा रङ र लोला खेली आपसी सद्भाव साटेर  मनाइँदै छ । सोमबार हिमाली एवं पहाडी जिल्ला सो पर्व मनाइएको  थियो  । 

जब फागुन महिना लाग्छ, जाडो महिना विस्तारै सकिँदै गएर घाम न्यानो हुँदै गर्दा होली पर्व सुरु भइसकेको हुन्छ । अनि, मिथिलाञ्चल क्षेत्रमा गाउन सुरु हुन्छ ‘जोगिरा सर र र...।’  तराईका क्षेत्रमा जोगिरा गाउँदै आत्मियता साटिँदा पहाडी क्षेत्रमा फागु नाचले गाउँ–सहर जाडेको भेटिन्छ । एक दिनअघि पहाडी र एक दिनपछि तराईका क्षेत्रमा होली पर्व मनाए पनि आपसी सद्भाव, भ्रातृत्व र उमंगको सन्देश दुवै क्षेत्रमा यसले बाँडेको छ । तराई र पहाड जोड्ने सांस्कृतिक सेतु बनेको छ ।

वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व असत्यमाथि सत्यको विजयको प्रतीक, पारिवारिक एवं सामाजिक एकताका रुपमा  मनाउने प्रचलन रही आएको छ ।