काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'विरुद्ध मु्द्दा दर्ता गर्ने सर्वोच्च अदालतको आदेशप्रति माओवादी केन्द्रले आपत्ति जनाएको छ। 

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डविरुद्ध अदालतमा मुद्दा दर्ता गराउन सर्वोच्च प्रशासनलाई न्यायायाधीश ईश्वर खतिवडा र हरिप्रसाद फुयालको संयुक्त इजलासले शुक्रबार आदेश दिएपछि माओवादी केन्द्रले आपत्ति जनाएको हो । यसअघि रिट निवेदक अधिवक्ताद्वय ज्ञानेन्द्र राज आरण र कल्याण बुढाथोकीले ‘प्रचण्ड’विरुद्ध दायर गरेको रिट निवेदनमा सर्वोच्च अदालतका रजिष्ट्रारले दर्ता गर्न नमिल्ने भनी दरपीठ गरेका थिए । त्यसपछि सर्वोच्च प्रशासनको दरपिठ गर्ने निर्णयविरुद्ध अधिवक्ताद्वयलेसिधै सर्वोच्चको इजलासमा निवेदन दिएका थिए। 

अधिवक्ता आरणका बुवा टीकाराजलाई तत्कालीन विद्रोहीले अपहरण गरी हत्या गरेका थिए। त्यस्तै अधिवक्ता बुढाथोकीका बुवा भुवानसिंह विस्थापित बनाएका थिए। प्रचण्डले युद्धमा १७ हजार मारिएका र त्यसमध्ये ५ हजार माओवादीले मारेको र त्यसको जिम्‍मा आफूले लिने अभिव्यक्ति दिएका थिए।

पार्टी महासचिव देव गुरुङले आइतबार जारी गरेको वक्तव्यमा भनिएको छ,‘१० वर्षे महान जनयुद्ध, २०६२/६३ को दोस्रो जनआन्दोलन र त्यसको जगमा सम्पन्न भएको वृहद शान्ति सम्झौता,अन्तरिम संविधान, पहिलो र दोश्रो पटक सम्पन्न संविधानसभाको निर्वाचन तथा संविधानसभाबाट निर्मित संघियता, धर्मरिपेक्षता, समावेशी समानुपातिक र लोकतान्त्रिक गणतन्त्र आधारभूत संरचना सहितको वर्तमान नेपालको संविधान र अग्रगामी उपलब्धिहरु विरुद्ध हुने कुनै पनि गतिविधिलाई यस दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले अस्वीकार गर्दछ । त्यस्तो कार्यप्रति घोर भत्र्सना गर्दछ ।’

रिट निवेदन न्यायिक पुनरावलोकनको सामान्य सिदान्त विपरित र वर्तमान नेपालको संविधानले प्रदान गरेको विचार र अभिव्यक्तिको स्वतन्त्रता ठाडै प्रतिकुल भएको सम्बद्ध निकायहरुलाई आग्रह गरेका छन् ।

वक्तव्यमा भनिएको छ,‘दशवर्षे जनयुद्धको क्रममा भएका घटनाहरुको सम्बन्धमा वृहत् शान्ति सम्झौताले निर्देशित गरे वमोजिम सत्यनिरुपण तथा वेपत्ता छानवि आयोग गठीत भै उक्त आयोगहरुले संक्रमणकालिन न्यायिक कारवाही सम्पन्न गर्न लामो समयदेखि क्रियाशिल भैरहेको परिप्रेक्षमा उक्त आयोगको अधिकारक्षेत्र भित्रका विषयहरुलाई प्रतिकूल असर पर्नेगरी कुनै पनि अधिकारक्षेत्र ग्रहण गर्न, कारवाही अगाडी बढाउन र सो सम्बन्धमा कुनै निर्णय गर्न नमिल्ने स्मरण सहित सचेत गराउन चाहन्छौ ।’

संक्रमणकालिन न्यायको मुल्य मान्यता विपरित हुने कार्यहरु र गतिविधिले मुलुकमा स्थापित शान्ति प्रक्रियामा गंभिर चुनौति श्रृजना हुने हुँदा नेपालमा स्थापित शान्ति तथा संघीय लोकतान्त्रिक गणतन्त्र र आर्थिक सम्वृद्धि सहितको अग्रगामी राजनीतिक पहलकदमीप्रति शान्ति सम्झौताका पक्षधर राजनीतिक पार्टीहरु, शान्तिपक्षधर आम जनता र अन्तर्राष्ट्रिय समुदाय एकजुट हुन आव्हान गरिएको छ ।

वक्तव्यमा भनिएको छ,‘जनयुद्व र दोश्रो जनआन्दोलन क्रममा सम्पन्न १२ बुँदे सम्झौता र शान्ति प्रकृयाको थालनीसँगै मुलुकको अग्रगामी प्रकृया विरोधि तत्वहरु तथा प्रतिगमनकारी प्रवृत्तिहरु विभिन्न रुपमा सलबलाइ रहेको परिप्रेक्षमा यी प्रवृतिहरु विरुद्ध अग्रगामी परिवर्तन पक्षधर राजनीतिक शक्ति तथा पार्टीहरु तथा आम जनसुदायलाई प्राप्त उपलब्धिहरुको रक्षा गर्दै मुलुकलाई आर्थिक सम्वृद्धि सहितको थप राजनीतिक उपलब्धिहरु संस्थागत गर्न र मुलुकमा शान्ति स्थापित र संस्थागत गर्ने पक्षमा सुदृढ अग्रगामी एकता कायम गर्न सम्बद्ध पक्षहरुसँग समेत हार्दिक अपील गर्दछौं।'

प्रचण्डविरूद्ध मुद्दा लगाएर निहुँ खोज्ने काम भयो, सबै माओवादी एक हौं : भट्टराई

नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष डा.बाबुराम भट्टराईले अब पूर्वमाओवादीहरू एक ठाउँमा उभिनुको विकल्प नरहेको बताएका छन् । आइतबार सहिद तथा बेपत्ता योद्धा सन्तति फाउण्डेसनले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले पूर्व माओवादीहरू एक ठाउँमा आउनुपर्ने बताएका हुन् ।

भट्टराईले भने,‘पूर्वमाओवादीहरू एक हुन जरूरी छ । पार्टी नै एक हुन नसके कार्यगत एकता बनाएर भएपनि अघि बढ्नुपर्छ । विचार मिल्नेहरू एउटै पार्टी बनाउनुपर्छ । ’ मिल्न सक्नेहरू एकै ठाउँमा आउनुपर्ने र समय लाग्छ भने मोर्चा बनाउनुपर्ने उनको भनाइ छ।

भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई मुद्दा लगाइएको भन्दै आपत्ती जनाए। उनले भने,'एउटा बहालवाला प्रधानमन्त्रीलाई मुद्दा लगाउने हो ? यो निहुँ खोजेको होइन ?’

उनले बहालवाला प्रधानमन्त्रीलाई गिरफ्तार गर्न मुद्दा लगाउन मिल्छ भन्ने निर्णय गर्नु भनेको निहुँ खोजेको होइन ? भन्दै प्रश्न गरे ।

भट्टराई भने,'माओवादी जनयुद्धलाई अपराधिकरण गर्ने प्रवृत्ति हाबी भयो । यसको विरुद्वमा सबै माओवादीहरू एक ठाउँमा उभिन आवश्यक छ ।’

पूर्व माओवादीलाई एक ठाउँमा आउन अध्यक्ष प्रचण्डको आह्वान

प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी आन्दोलनका सबै समूह र धारलाई एक ठाउँमा आउन आह्वान गरेका छन्। 

जनयुद्धकालीन माओवादी नेताहरू डा बाबुराम भट्टराई, नेत्रविक्रम चन्द, धर्मेन्द्र बाँस्तोलालगायत नेताहरू उपस्थित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले माओवादी आन्दोलनका सबै समूहलाई पार्टी एकतामा आउन आग्रह गरेका हुन्। 

माओवादीले हरेक वर्ष फागुन १४ देखि २१ गतेसम्म मनाउँदै आएको सहिद सप्ताहको आइतबार अन्तिम दिन ‘सहिद तथा बेपत्ता योद्धा सन्तति फाउण्डेशन’द्वारा आयोजित अन्तरक्रियालाई सम्बोधन गर्दै उनले माओवादी आन्दोलन कमजोर नभए पनि विभिन्न धार र भंगालामा बाँडिएपछि प्रभाव घटेका कारण पुनः एकताबद्ध हुनुपर्ने आवश्यकता ‍‍औल्याए। 

वर्तमान सरकारले जनयुद्ध दिवसलाई राष्ट्रिय दिवसको मान्यता दिएको तथा सहिद घोषणाका लागि राजपत्रमा सूचना प्रकाशित गर्नेलगायत निर्णय गरेपछि केही शक्तिलाई सह्य नभएको प्रधानमन्त्री दाहालको भनाइ थियो। उनले यतिबेला चर्को बोल्ने भन्दा पनि काम गर्ने समय भएको जिकिर गरे। 

उनले भने, 'सरकारका तर्फबाट जनयुद्ध, जनआन्दोलन र त्यस आन्दोलनमा सहादत प्राप्त गर्ने सहिद र बेपत्ता योद्धालाई सम्मान गर्ने काम एकपछि अर्को गर्दै अघि बढेको छ। त्यसमा प्रतिक्रियावादी आतंकित भएका छन्। तिनीहरू फेरि एक पटक माओवादीसँग तर्सिएका छन्। माओवादीका नाममा तथानाम गालीगलौज गर्न थालेका छन्।'

प्रधानमन्त्री दाहालले यो बेला चर्को बोल्ने समय नभई काम गर्ने समय भएकाले आफू केन्द्रित भएको बताए। 'कामबाटै प्रतिक्रियावादी शक्तिविरुद्ध लडिरहेको छु', उनले भने। 

प्रधानमन्त्री दाहालले केही ‘भूत प्रेत’ निक्लिँदैमा इतिहास र त्यागको कीर्तिमान कायम गरेका महान सहिद नसिद्धिने बरु ज्यूँदो जाग्दो भएर आउने उल्लेख गरे। 

माओवादीविरुद्ध निरन्तर षड्यन्त्र भइरहेकाले आफ्ना तर्फबाट भ्रम चिर्न प्रधानमन्त्री दहालले सबैलाई आग्रह गरे।