मंचिता अर्याल भट्टराई,


कृषि क्षेत्र नेपालको मेरुदण्ड हो । अझै पनि दुई तिहाइ नेपाली जनता जिवीकोपार्जनका लागि कृषि पेशामै निर्भर छन् । अन्य बालीनाली भन्दा पनि तरकारी खेती थुप्रै किसानहरुको मुख्य आय आर्जनको स्रोतका रुपमा रहेको पाइन्छ । तर बालीनालीमा लाग्ने विभिन्न रोग, कीरा, आदिले तरकारीहरुलाई खेतमा तथा भण्डारणको समयमा नष्ट पार्ने गर्दछ । 


तरकारीहरु मध्ये पनि नेपालमा आलुलाई मुख्य खाद्य बालीका रुपमा लिइन्छ । कीराको प्रकोपको स्तरका आधारमा भने नेपालमा आलुको उत्पादन र गुणस्तरमा ६० प्रतिशत जति क्षति सजिलै हुन सक्ने देखिन्छ । भण्डारणको समयमा आलुमा लाग्ने पुतलीले सबैभन्दा बढी नोक्सानी गर्दछ भने लाही, खुम्रे कीरा, रातो कमिला आदिले बोटमा नै असर पार्दछन् । हाल भइरहेको तापक्रम बृद्धि तथा खडेरीले कीराहरुको प्रकोपलाई झन बढाउँदै लगेको छ । 


तरकारी खेतीमा देखापरेका कीटजन्य समस्याहरुको जैविक समाधानका रुपमा वनस्पति जन्य पदार्थहरु जस्तै तितेपाती, वनमारा आदि पनि प्रभावकारी हुन सक्दछन् । हाम्रो गाउँघरमा सजिलै पाइने बोझोको गानोलाई धुलो बनाई छर्कदा भण्डारणको समयमा देखा पर्ने कीरा नियन्त्रण गर्न सकिन्छ । यस बाहेक  सिंचाई, Pheromone पासो आदिको प्रयोग जस्ता विधिहरु पनि वातावरण मैत्री विधिहरु हुन् । 


खेतीबारीमा पाइने सबै कीराहरु हानिकारक हुँदैनन् । तिनीहरुमध्ये कतिपयले बालीनालीका शत्रु कीराहरुलाई खाएर बालीनालीलाई सहयोग पु¥याइरहेका हुन्छन् । जस्तै शिकारी कीराहरु विभिन्न व्याक्टेरिया, भाइरस जस्ता सुक्ष्मजीव तथा केही ढुसीहरुको प्रयोगबाट पनि तरकारी बालीमा लाग्ने विभिन्न जातका कीराहरु नियन्त्रण गर्न सकिने कुरा प्रमाणित भइसकेको छ । बजारीकरणको अभावमा भने धेरै किसानहरु यस्ता विधि प्रयोग गर्नबाट बञ्चीत छन् । 


बाली संरक्षणका लागि आजभोलि व्यापक रुपमा विषादीहरुको प्रयोग भइरहेको छन् । यस्ता विषादीहरुको सही र समुचित प्रयोगले केही हदसम्म कीरा नियन्त्रण हुनुका साथै मानव स्वास्थ्यमा पर्ने प्रभावहरु न्यूनीकरण गर्न सकिन्छ । विषादीको बट्टामा अंकित रातो, पहेँलो, निलो, र हरियो रंगहरु मध्ये निलो र हरियो रंगको संकेत भएका विषादीहरु मात्र प्रयोग गर्नु उचित हुन्छ । 
कुन समयमा कति मात्रा विषादी कुन कीरा नियन्त्रणका लागि प्रयोग गर्नु पर्छ भन्ने जस्ता कुराहरुलाई ध्यानमा राखेर सुरक्षाका उपायहरु अपनाइ विषादीको प्रयोग गरेको खण्डमा मात्र विषादीका हानिकारक असरहरुबाट बच्न सकिन्छ । 


आशा गरौं भविष्यमा छिट्टै नै बालीनालीको शत्रु कीरा नियन्त्रणका नयाँ नयाँ विधिहरु अपनाए जनमानसले पनि उपयोग गर्न सफल हुनेछन् ।