काठमाडौं - भक्तपुरको मध्यपुर थिमि नगरपालिकाका उपप्रमुख विजयकृष्ण श्रेष्ठ आक्रमणमा परेका छन्। 

नेकपा (एमाले) का मध्यपुर थिमि नगर कमिटी सचिव रहेका मध्यपुर थिमी नगरपालिका-५ का सुमन जोशीको नेतृत्वका समूहले उपप्रमुख श्रेष्ठमाथि सुनियोजित आक्रमण गरेको उपप्रमुखको सचिवालयले जनाएको छ। 

भक्तपुरको बालकुमारी हात्तिमहाकाल सडकअन्तर्गत वडा नम्बर ४ को दुईपोखरीमा ढुंगा बिछ्याउने काममा अवरोध भएपछी सहजीकरण गर्न पुगेका उपप्रमुख श्रेष्ठमाथि आक्रमण भएको हो।

नगर प्रमुख सुरेन्द्र श्रेष्ठले विकास विरोधीहरू विकास निर्माण रोक्न तल्लो स्तरमै उत्रिएको बताए। जनताको प्रतिनिधिमाथि आक्रमण गर्नु जनतामाथिकै आक्रमण भएको भन्दै नगर प्रमुख श्रेष्ठले उनीहरूलाई उन्मुक्ति दिन नसकिने बताएका छन्। नगरपालिकाले कानुनी कारबाही अघि बढाएको उनले बताए।

जिल्ला प्रहरी वृत्त थिमिका डिएसपी रविन्द्र श्रेष्ठले घटनाको पुष्टि गर्दै वृत्तमा नगरपालिकाले उजुरी दर्ता गराएको जानकारी दिए। आरोपीलाई वृत्तमा ल्याउन र अनुसन्धान अघि बढाउन आफूले निर्देशन दिइसकेको उनको भनाइ छ।

उपप्रमुख विजयकृष्ण श्रेष्ठले विकास विरोधीहरू भौतिक आक्रमणमै उत्रनु गुण्डागर्दीको पराकाष्टा भएको बताए। आफूलाई यसले विचलित बनाउन नसक्ने र गुण्डागर्दीदेखि नडराई जनसेवामा जुटिरहने उनको भनाइ छ।

नगर प्रमुख सुरेन्द्र श्रेष्ठको नेतृत्वमा निर्माणमा सहजीकरण गर्न नगरपालिकाको टोली आइतबार बिहान दुईपोखरी पुगेको थियो।