काठमाडौं - अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पुल निर्माणमा अनियमितता गरेको आरोपमा पूर्वसचिवसहित तीनजनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

गण्डकी प्रदेश सरकार भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात मन्त्रालयका तत्कालीन सचिव ईश्वरचन्द्र मरहट्टा, प्रदेश सडक निर्देशनालयका तत्कालीन निमित्त निर्देशक रामकुमार श्रेष्ठ र पूर्वाधार विकास कार्यालय गोरखाका सिनियर डिभिजन इन्जिनियर ओम राज ढुंगानाविरूद्ध सार्वजनिक सम्पत्ति हानि नोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा आइतबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए।

अख्तियारका अनुसार उनीहरूमाथि गोरखाको गोरखा नगरपालिका ३ जरेवरस्थित दरौदी नदीमाथि पुल बनाउने बहानामा परामर्शदातासँगको सम्झौताविपरित पुलको स्थान र नाम समेत परिवर्तन गराइ भ्रष्टाचार गरेको आरोप छ।

पुल निर्माणमा पूर्वसचिव मरहट्टाले कानुन विपरित मन्त्रालयस्तरबाट पुलको छनौट गराइ कार्यक्रम स्वीकृतका लागि प्रदेशसभामा पेश गरेको अख्तियारको ठहर छ।

राज्यको सम्पत्ति औचित्य नभएको स्थानमा खर्च गर्न आफ्नो ओहदाको दुरूपयोग गरेको आरोपमा उनीविरुद्ध ५ करोड ४५ लाख ५२ हजार ६७१ भ्रष्टाचार मुद्दा दायर भएको हो।

यस्तै, गण्डकी प्रदेश सडक निर्देशनालयका तत्कालीन निर्देशक श्रेष्ठले दरौदी खोला पुल निर्माणमा काल्पनिक सडकको नाम दिएवाफत भोक्तानी भएको ५ लाख ७१ हजार ७८० रुपैयाँ राज्यको सम्पत्ति तत्काल औचित्य नभएको स्थानमा खर्च गरी हिनामिना गरेको अख्तियारले जनाएको छ।

उनीमाथि सोही रकम बराबर बिगो मागसहित कैद र जरिवाना माग दावी गरिएको छ।

साथै गोरखाका इन्जिनियर ढुंगानाले बदनियतपूर्वक सामुदायिक वनक्षेत्रमा कथित पुल निर्माणको नाममा वनको अनुमति नलिइ बजेट खर्च गरेको आरोप उनीमाथि लागेको अख्तियारले जनाएको छ।

ढुंगानाविरूद्ध भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा ३६ अनुसार मुद्दा दायर भएको हो।