काठमाडौं - पोखरा विश्वविद्यालयले शिक्षण अस्पताल सञ्चालन गर्ने भएको छ। शुक्रबार पोखरामा विश्वविद्यालयका पदाधिकारी र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडलेलसँगको नीतिगत छलफलपछि विश्वविद्यालयले दुई महिनाभित्र शिक्षण अस्पताल सञ्चालन गर्ने निर्णय गरेको हो।
विश्वविद्यालयले गण्डकी प्रदेश त्यस आसपासका क्षेत्रका मेडिकल कलेजहरूलाई सम्बन्धन दिने र अन्य विश्वविद्यालयमा पढाइ नभएका विषय समावेश गर्ने छलफल भएको विश्वविद्यालयका रजिष्ट्रार दीपक भण्डारीले जानकारी दिए।
विश्वविद्यालयमा फिजियोथेरापी र अप्टोमेटिप विषयको अध्यापनको तयारी भइरहेको बताए। त्यसका लागि अहिले भौतिक संरचनाको काम भइरहेको छ। यसअघि बसेको विश्वविद्यालयको सभाले नयाँ विषय र मेडिकल कलेजको सम्बन्धन दिने विषयमा समेत निर्णय गरेको थियो।
छलफलमा मन्त्रीपौडेलले मुख्य गरी तीन विषयमा ध्यानदिन आग्रह गरे। भौतिकपूर्वाधार, नयाँ विषय र अन्य विश्वविद्यालयभन्दा फरक कोर्स तयार गर्न उनको सुझाव छ। विश्वविद्यालय सुधारका लागि कुलपति तथा प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि आवश्यक छलफल गर्ने मन्त्री पौडेलको भनाइ छ।
‘विश्वविद्यालय सुधारका लागि अन्य विश्वविद्यालयका पदाधिकारीसँग छलफल भइरहेको छ,’ उनले भने, ‘नयाँ योजना र नीतिगतविषयलाई जोड दिनुस्, आवश्यक परे प्रधानमन्त्रीसँग कुरा गर्छु।’
0 comment