काठमाडौं - नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले व्यक्तिगत पद र प्रतिष्ठाभन्दा देश, जनता र पार्टीप्रतिको जिम्मेवारी ठूलो भएको बताएका छन्। आफूलाई अब कुनै पदको अपेक्षा नरहेको उल्लेख गर्दै उनले पार्टी र देशका लागि निरन्तर योगदान गरिरहने प्रतिबद्धता व्यक्त गरेका छन्।

शनिबार ललितपुरको महालक्ष्मीस्थानमा आयोजित कांग्रेसको देउवा समूहको १५औँ नियमित जिल्ला अधिवेशन उद्घाटन गर्दै देउवाले नेपाली कांग्रेस जनताको त्याग र बलिदानबाट स्थापित पार्टी भएकाले कसैले पनि आफ्नो स्वार्थअनुसार नियन्त्रण गर्न नसक्ने बताए। पार्टीको इतिहास, विरासत र योगदानको सम्मान गर्दै सबै एकताबद्ध भएर अघि बढ्नुपर्नेमा उनले जोड दिए।

पार्टीको आधिकारिकतासम्बन्धी विवादबारे बोल्दै देउवाले सर्वोच्च अदालतबाट आफूहरूले न्याय पाउने विश्वास व्यक्त गरे। अदालतले निष्पक्ष रूपमा अन्तिम निर्णय गर्नेमा आफू विश्वस्त रहेको उनको भनाइ थियो।

‘मलाई विश्वास छ, न्याय हुन्छ, हुन्छ, हुन्छ। यो पार्टी हाम्रो हो, हाम्रै रहन्छ, कतै जाँदैन,’ उनले भने। राजाको शासनकालमा समेत अदालतले निष्पक्ष फैसला गरेको स्मरण गराउँदै उनले अहिले पनि न्यायिक निष्पक्षतामाथि विश्वास रहेको बताए।

देउवाले गगन थापाको नेतृत्वमा भएको विशेष महाधिवेशनबारे आफूलाई जानकारी नगराइएको दाबीसमेत गरे। आफू पार्टी सभापति रहेकै अवस्थामा कुनै परामर्श नगरी विशेष महाधिवेशन आयोजना गरेर थापा सभापति बनेको जानकारी पाएको उनको भनाइ थियो।

पार्टीभित्र देखिएका विवाद तथा विशेष महाधिवेशनसम्बन्धी विषय विधि, विधान र न्यायिक प्रक्रियाबाट समाधान हुनुपर्नेमा उनले जोड दिए।

यसैबीच, देउवाले जेनजी आन्दोलनका क्रममा आफू गम्भीर आक्रमणमा परेको र टाउकोमा चोट लागेको बताए। सुरक्षाकर्मीको उपस्थिति नभएको भए आफ्नो ज्यानसमेत जान सक्ने अवस्था रहेको उनको दाबी थियो। जेनजीका नाममा आफूहरूमाथि षड्यन्त्र भएको उनको आरोप छ।

कार्यक्रममा कांग्रेस नेता मदनबहादुर अमात्य, राष्ट्रियसभा सदस्य जीतजङ्ग बस्नेत, बागमती प्रदेशका पूर्वमन्त्री उर्मिला केसी नेपाल र निवर्तमान क्षेत्रीय सभापति महेश्वर थापालगायतले पार्टीको आन्तरिक एकता, नियमित महाधिवेशन र सक्षम नेतृत्व चयनको आवश्यकतामाथि धारणा राखेका थिए।

उनीहरूले पार्टीलाई थप सुदृढ बनाउन आपसी समझदारी, एकता र लोकतान्त्रिक विधिको पालना अपरिहार्य रहेको बताएका थिए।