काठमाडौं - सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउन सरकारलाई कुनै निर्देशन नदिएको स्पष्ट पारेको छ। रास्वपाका प्रवक्ता जगदीश खरेलले आईजीपी हटाउने वा पदमा कायम राख्ने विषयमा पार्टीले सरकारलाई कुनै निर्देशन नदिएको दोहोर्‍याएका हुन्।

चीन भ्रमणमा जानुअघि आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै खरेलले पार्टीले सरकारको कामकारबाहीमा हस्तक्षेप नगर्ने बताए।

प्रधानमन्त्रीले सरकार सञ्चालनका क्रममा आवश्यक ठानेर चाल्ने कदममा पार्टीको समर्थन रहने उनको भनाइ थियो। सरकारका कतिपय निर्णयलाई लिएर पार्टी र सरकारबीच मतभेद देखिएको भन्दै सञ्चारकर्मीले राखेको जिज्ञासामा उनले सरकारलाई स्वतन्त्र रूपमा काम गर्न दिनुपर्ने पार्टीको मान्यता रहेको स्पष्ट पारे।

पत्रकारहरूले गृहमन्त्री सुधन गुरुङसँग सम्बन्धित छानबिन प्रतिवेदन, आईजीपी हटाइएको विषय तथा प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेनको विषय उठाउँदै पार्टी र सरकारबीच मतभेद रहेको हो कि भन्ने प्रश्न गरेका थिए।

जवाफमा प्रवक्ता खरेलले विभिन्न विषयमा प्रधानमन्त्रीले लिने निर्णय र कदममा पार्टीको समर्थन रहने बताए। सरकारका काममा पार्टीले अनावश्यक हस्तक्षेप नगर्ने उनको भनाइ थियो।