काठमाडौं - नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले समयमा नै स्थानीय तहको निर्वाचन हुनेमा संशय उत्पन्न भएको बताएका छन्। शुक्रबार जनकपुरमा सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्री पौडेलले तोकिएको समयभित्र चुनाव गर्ने वा नगरिने भन्ने विषयमा संशय रहेको र समयमा निर्वाचन नभएमा स्थानीय तह नै चुनावविहीन बन्ने अवस्था आउन सक्ने बताए।
उनले तोकिएको समयमा निर्वाचन गर्न सरकारले आवश्यक गृहकार्य नगरेको धारणा राखे । पौडेलले स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवारबीच मात्रै प्रतिष्पर्धा गराउने सोच भए वा स्थानीय तहको संख्या हेरफेर गर्नुपर्ने संविधान संशोधन गर्नुपर्ने भएपनि यसमा पनि सरकाले कुनै तयारी नगरेको बताए ।
संविधान सुधार कार्यदल बनाएर बहस र समितिको गठन गरिए तापनि संविधान संशोधन गर्न चाहेको हो वा केवल हल्ला मात्रै गर्न खोजेको भन्ने प्रश्न उत्पन्न भएको उनको भनाइ छ । उनले सरकारले कुनै पनि बहानामा लोकतन्त्रमाथि आघात पुर्याउने काम गरे कांग्रेस चूप लागेर नबस्ने चेतावनी समेत दिए ।


0 comment