काठमाडौं - मकवानपुरको भीमफेदीमा भएको सवारी दुर्घटनामा ज्यान गुमाएका व्यक्तिका परिवार र स्थानीय प्रशासनबीच क्षतिपूर्तिलगायतका विषयमा सहमति जुटेपछि मृतकको शव परीक्षण प्रक्रिया अघि बढाइएको छ।
सरकारले मृतकका परिवारलाई आवश्यक क्षतिपूर्ति उपलब्ध गराउने, अभिभावक गुमाएका बालबालिकाको संरक्षण तथा सहयोगको जिम्मेवारी लिने र पीडित परिवारका सदस्यलाई रोजगारीको व्यवस्था गर्ने प्रतिबद्धता जनाएपछि सहमति जुटेको हो।
सहमति भएसँगै पोस्टमार्टम प्रक्रिया अघि बढाइएको छ। दुर्घटनामा मृत्यु भएका १४ जनामध्ये पाँच जनाको यसअघि नै पोस्टमार्टम गरिएको थियो। चालकको शव परीक्षणपछि परिवारले बुझेर लगिसकेको छ भने बाँकी नौ जनाको पोस्टमार्टम भइरहेको छ।
छठ पर्व मनाउन घर फर्किंदै गरेका यात्रु चढेको मधेश प्रदेश ०३–००१ ज ०८८० नम्बरको विद्युतीय हाइस बिहीबार बिहान करिब ६ बजे मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानीगढीस्थित भीमफेदी-कुलेखानी-काठमाडौं सडकखण्डबाट करिब पाँच सय मिटर तल खोल्सामा खसेर दुर्घटना भएको थियो। दुर्घटनामा तीन बालिकासहित १४ जनाको मृत्यु भएको थियो भने छ जना घाइते भएका थिए।
दुर्घटनामा ज्यान गुमाउने अधिकांश सर्लाहीको चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुर टोलका बासिन्दा थिए। छठ पर्व मनाउन घर फर्किने तयारीमा रहेका आफन्तको एकैपटक मृत्यु भएपछि गाउँ शोकमा डुबेको छ। छठको तयारीमा जुटेका गाउँलेका घरमा दुई दिनदेखि चुलोसमेत नबलेको स्थानीय बताउँछन्।


0 comment