काठमाडौं - आज ७३ औं प्रजातन्त्र दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदैछ। 

जनक्रान्तिका माध्यमबाट एक सय चार वर्षको राणाशासन अन्त्य गरी देशमा प्रजातन्त्र घोषणा भएको दिनको स्मरणमा सरकारले औपचारिक समारोहका साथ दिवस मनाउँदै आएको छ।

प्रजातन्त्रकै जगमा लोकतन्त्र हुँदै मुलुकमा अहिले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापना भएको छ। प्रजातन्त्र स्थापनाका लागि भएको सङ्घर्षमा शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा र गङ्गालाल श्रेष्ठले विसं १९९७ माघमा बलिदानी दिएका थिए। प्रजापरिषद् नामक राजनीतिक दल भूमिगत रूपमा स्थापना गरी प्रजातन्त्र स्थापनाका लागि जनतामा जागरण ल्याएको अभियोगमा उनीहरुलाई तत्कालीन राणा शासकले मृत्युदण्ड दिएको थियो।

जहाँनियाँ राणा शासनविरुद्ध जनताले आन्दोलन गरी रगत बगाएपछि राणा शासक जनतासमक्ष घुँडा टेक्न बाध्य भई २००७ साल फागुन ७ गते प्रजातन्त्र स्थापना भएको घोषणा गरियो। 
तत्कालीन राजा त्रिभुवनको घोषणापछि राणा र कांग्रेस सम्मिलित सरकार गठन भई नेपालमा प्रजातान्त्रिक शासनकालको सूत्रपात भयो। फागुन ७ मा प्रजातन्त्र स्थापना भएको सम्झनामा सरकारले केन्द्रमा प्रत्येक वर्ष राजधानीको टुँडिखेलमा औपचारिक कार्यक्रमको आयोजना गरी विशेषरूपमा यो दिवस मनाउँदै आएको छ। सबै जिल्लामा पनि यो दिवस मनाइँदै आएको छ।

सहिदको सपनालाई मूर्तरूप दिनु पर्छ : राष्ट्रपति

राष्ट्रपति विद्यादेवी भण्डारीले जनता नै राज्यशक्तिको सम्पूर्ण स्रोत हुन् भन्ने मान्यतामा आधारित रही लोकतान्त्रिक आचरणलाई जीवन पद्धति बनाउन सकेको खण्डमा प्रजातन्त्र दिवसको सार्थकता पुष्टि हुनसक्ने बताएकी छन्।

उनले राष्ट्रिय प्रजातन्त्र दिवस, २०७९ का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदी–बहिनी तथा दाजु–भाइमा हार्दिक शुभकामना व्यक्त गर्दै वर्तमान शासन व्यवस्थाले दशकौँदेखि व्यक्त हुँदै आएको सहिदको सपना एवं जनताको आकाङ्क्षालाई मूर्तरूप दिन सक्नुपर्ने उल्लेख गरेकी छन्।

'हामीले हासिल गरेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रको जग २००७ सालको जनक्रान्तिबाट नै निर्माण भएको हो, तसर्थ सहिदको सपना  एवं जनताको आकाङ्क्षालाई मूर्तरूप दिन सक्नुपर्दछ, त्यसका लागि हामीले सामाजिक न्याय, समानता, सामाजिक सद्भाव तथा आर्थिक समृद्धिलाई राष्ट्रको मूल लक्ष्य बनाउनु पर्दछ', राष्ट्रपतिको सन्देशमा भनिएको छ ।

प्रजातन्त्र दिवसको पृष्ठभूमिमा २००७ सालभन्दा अघि भएका आन्दोलनहरूको भूमिका अभिन्नरूपले जोडिएको र विसं १९९७ मा प्रजापरिषद्को अगुवाइमा भएको आन्दोलनको क्रममा महान् सहिदहरू गङ्गालाल श्रेष्ठ, धर्मभक्त माथेमा, शुक्रराज शास्त्री र दशरथ चन्दको सहादत भएको विषय उनले सन्देशमा उल्लेख गरेकी छन्।

नागरिक अधिकार सुनिश्चित गर्दै लोकतान्त्रिक शासन प्रणाली स्थापना गर्नका लागि भएका सङ्घर्षहरूमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने सम्पूर्ण सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै राष्ट्रपति भण्डारीले मुलुकमा प्रजातन्त्र स्थापनाका लागि भएका अनेकौँ आन्दोलनहरूलाई मार्गदर्शन गर्ने अग्रजहरूप्रति हार्दिक सम्मान एवं श्रद्धा प्रकट गरेकी छन्। उनले सन्देशमा नेपालको राजनीतिक इतिहासमा फागुन ७ गतेको विशिष्ट महत्व रहेको र विसं २००७ सालमा जहानिया निरंकुश शासनविरूद्ध जनताको सङ्घर्षले आजकै दिन विजय हासिल गरेको स्मरण गरेकी छन्।

'सहिदहरूको उच्च बलिदानले वर्तमान समयसम्मका हाम्रा राजनीतिक एवं सामाजिक सुधारका आन्दोलनहरूलाई प्रेरणा दिएको छ भने भविष्यमा पनि उनीहरुको सहादतले हामीलाई मार्गदर्शन गरिरहने छ', राष्ट्रपति भण्डारीको सन्देशमा भनिएको छ, 'यस कारण प्रजातन्त्र दिवसले नागरिक अधिकारको महत्व स्थायी बनाउनुका साथै सहिदको अमर गाथा पनि सदैव स्मरण गराउँछ ।'

क्रान्तिको बलमा प्राप्त उपलब्धिको रक्षा गर्दै अगाडि बढ्नुपर्छ : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानको प्रगतिशील कार्यान्वयनमार्फत समाजवादोन्मुख राज्यको आधारशिला खडा गर्नु राष्ट्रिय कार्यभार भएको बताएका छन्। ऐतिहासिक क्रान्ति, आन्दोलन र जनसङ्घर्षको बलमा प्राप्त उपलब्धिको रक्षा गर्दै थप उपलब्धीका लागि निरन्तर लाग्नुपर्नेमा उनको जोड छ ।


त्रिहत्तरौँ प्रजातन्त्र दिवसका अवसरमा शुभकामना सन्देश दिंदै प्रधानमन्त्री दाहालले नेपाली जनताको त्याग, तपस्या र बलिदानको जगमा स्थापित प्रजातन्त्रले आफूलाई परिस्कृत र परिमार्जन गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रको गौरवपूर्ण परिस्थितिसम्म आइपुगेको बताएका छन्।

प्रधानमन्त्री प्रचण्डले सन्देशमा भनेका छन्, 'आजका समस्त उपलब्धिका निम्ति २००७ सालको आन्दोलन, २०४६ सालको आन्दोलन, महान् जनयुद्ध, २०६२/६३ को ऐतिहासिक जनआन्दोलनलगायत उत्पीडित वर्ग, जाति, क्षेत्र, लिङ्ग र समुदायका न्यायपूर्ण आन्दोलनहरूको निर्णायक भूमिका रहिआएको छ ।'

प्रधानमन्त्री प्रचण्डले वर्तमान सरकार सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्यमा अगाडि बढ्दै बदलिएको राजनीतिक व्यवस्थाअनुरूप जनताको अवस्था बदल्न दृढ प्रतिवद्ध रहेको उल्लेख गरेका छन्। प्रजातन्त्र दिवसले राष्ट्रिय सहमतिमार्फत देशका चुनौतीहरू छिचोल्दै नवीनतम् सम्भावनाहरू प्राप्त गर्न हामी सबैलाई प्रेरणा प्रदान गर्न सकोस् भन्ने कामनासहित प्रधानमन्त्रीले समस्त नेपालीमा शुभकामना व्यक्त गरेका छन्।

प्रधानमन्त्रीले सन्देशमा भनेका छन्, 'आजको यस ऐतिहासिक दिनमा प्रजातन्त्र स्थापनाका निम्ति जीवनको अमूल्य बलिदान गर्नुहुने महान् सहिदप्रति भावपूर्ण श्रद्धासुमन अर्पण गर्दै प्रजातान्त्रिक आन्दोलनका सम्पूर्ण योद्धाहरूप्रति उच्च सम्मान व्यक्त गर्दछु ।'

सङ्घीयता र गणतन्त्रको जननी फागुन ७ को क्रान्ति हो : देउवा

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले विसं २००७ को जनक्रान्तिले राजनीतिक परिवर्तन मात्र नभइ आर्थिक, सामाजिक, सांस्कृतिक, शैक्षिकलगायत हरेक क्षेत्रमा अग्रगामी परिवर्तनको मार्गप्रशस्त गरेको उल्लेख गरेका छन्।

उनले फागुन ७ गते कांग्रेसको नेतृत्वमा नेपालको आधुनिक इतिहास प्रारम्भ भएको गौरवमय दिन राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा सबै नेपालीमा शुभकामना व्यक्त गरेका छन्। सभापति देउवाले विसं २००७  कात्तिक २६ देखि प्रारम्भ ऐतिहासिक जनक्रान्तिले आजकै दिन एक सय चार वर्षको एकतन्त्रीय निरंकुश राणा शासनलाई समाप्त पारेर देशमा प्रजातन्त्रको स्थापना भएको बताएका छन्।

'राजनीतिक परिवर्तनमात्र होइन, आर्थिक, सामाजिक, सांस्कृतिक, शैक्षिक हरेक क्षेत्रमा यसले अग्रगामी परिवर्तनको मार्गप्रशस्त गरेको थियो । मध्ययुगीन सामन्ती अवस्थाबाट नयाँ युगमा नेपाल प्रवेश गर्‍यो र प्रजातन्त्रसँगै बलियो राष्ट्रियताको आधार पनि सो दिनले निर्माण गर्‍यो', उनले शुभकामना सन्देशमा उल्लेख गरेका छन्।

समृद्धिको सपना, समावेशीताको जग, राष्ट्रियता र प्रजातन्त्रको अन्योन्याश्रित सम्बन्ध हुँदै २०४६ सालको परिवर्तन र २०६२/६३ सालको आन्दोलनमार्फत सङ्घीयता र गणतन्त्रसम्मको यात्राको जननी त्यही फागुन ७ को क्रान्ति नै भएको सभापति देउवाले बताएका छन्।

उनले नेपालको संविधानको संरक्षण र सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत स्थायित्व कायम गरी मुलुकलाई आर्थिक समुन्नतिको मार्गमा अग्रसर गराउँदै लोकतान्त्रिक संस्कार, संस्कृति, मूल्य र मान्यतामा आधारित समतामूलक समाजको निर्माण गर्न दिवसले सबैलाई प्रेरणा प्रदान गर्नेछ भन्ने विश्वास व्यक्त गरेका छन्।

सभापति देउवाले देशमा लोकतन्त्र स्थापना र पुनःस्थापनाको लामो सङ्घर्षमा अनेकौँ सपुतहरूले आफूलाई उत्सर्ग गरेको उल्लेख गर्दै यो ऐतिहासिक दिनमा सम्पूर्ण सहिदहरूको त्याग र बलिदानको स्मरणका साथ उनीहरूप्रति श्रद्धाञ्जलि अर्पण गरेका छन्।