काठमाडौं - संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आज बिहान सोलुखुम्बुमा भएको हेलिकप्टर दुर्घटनाप्रति गहिरो दुर्घटना व्यक्त गरेको छ ।
आज एक विज्ञप्ति जारी गर्दै दुर्घटनामा परी निधन भएका भारतीय नागरिक वसन्तकुमार बलरामुडुको आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजन तथा आफन्तहरूमा मन्त्रालयले हार्दिक समवेदना व्यक्त गरेको छ ।
बलरामुडु भारतको तमिलनाडु राज्य, चेन्नई निवासी भएको मन्त्रालयको भनाइ छ । मन्त्रालयले दुर्घटनामा घाइते भएका न्यूजील्याण्डका नागरिक शैलेस किसन पटेल तथा सम्बन्धित हेलिकप्टरका पाइलटहरूको शीघ्र स्वास्थ्यलाभको समेत कामना गरेको छ ।
“नेपालको पर्यटन क्षेत्रलाई अन्तरराष्ट्रिय स्तरमा प्रवर्द्धन गर्दै सुरक्षित, भरपर्दो र विश्वसनीय हवाई सेवा सुनिश्चित गर्न नेपाल सरकारले नीतिगत, संस्थागत, संरचनागत तथा पूर्वाधार विकासका क्षेत्रमा निरन्तर प्रयास गर्दै आएको छ”, मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
मन्त्रालयले नेपाली आकाशलाई थप सुरक्षित बनाउन हवाई सुरक्षा मापदण्डको प्रभावकारी कार्यान्वयन, अनुगमन तथा नियमनलाई उच्च प्राथमिकतामा राखिएको समेत उल्लेख गरेको छ ।
मन्त्रालयले दुर्घटनाको सम्बन्धमा छानबिन सुरु भइसकेको र त्यसबाट प्राप्त तथ्य, विश्लेषण तथा निष्कर्षका आधारमा प्रचलित कानुनबमोजिम आवश्यक कारबाही एवं सुधारात्मक उपायहरू अवलम्बन गरिने समेत उल्लेख गरेको छ ।
आज बिहान ८:१२ बजे सोलुखुम्बुको फेरिचे क्षेत्रमा अवतरण गर्ने क्रममा एयर डाइनेष्टीको नाइन एन-एओडी र फिस्टेल एयरको नाइन एन-एजेआर हेलिकप्टरहरू दुर्घटनामा परेका थिए ।


0 comment