काठमाडौं - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, पूर्वमन्त्री डा. मिनेन्द्र रिजालसहित ९७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

सार्वजनिक जग्गा गैरकानुनी रूपमा छुट दर्ता गराई भ्रष्टाचार गरेको आरोपमा अख्तियारले उनीहरूविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो । आयोगले प्रतिवादीहरूबाट करिब ७३ करोड ५० लाख रुपैयाँ बिगो असुल गर्न मागदाबी गरेको छ ।

मुद्दा दायर गरिएकाहरूको सूचीमा पूर्वभूमिसुधारमन्त्री डम्बर श्रेष्ठ र सवारी दुर्घटनामा त्रिशूली नदीमा बेपत्ता भएका पूर्वमुख्यसचिव माधव घिमिरेकी छोरी कमला घिमिरेसमेत छन् ।

त्यस्तै, पूर्वसचिव छविराज पन्त, पूर्वसहसचिव रमेशचन्द्र अधिकारी तथा तत्कालीन उपसचिवहरू गान्धीप्रसाद सुवेदी, हुपेन्द्रमणि केसी, नुरपति कँडेल, हरिराज पन्त, डा. अर्जुन खड्का, लक्ष्मण थापा र ध्रुव सापकोटाविरुद्ध पनि मुद्दा दायर गरिएको छ । शाखा अधिकृत बलराम निरौलालाई समेत प्रतिवादी बनाइएको छ ।

यसैगरी, भूमि व्यवस्था विभागका तत्कालीन महानिर्देशक राजेन्द्र शर्मा, निर्देशक नारायण अधिकारी, उपसचिव बाबुराम खनाल, शाखा अधिकृत सीताराम पोखरेल र नायब सुब्बा बुद्धिबहादुर कार्कीविरुद्ध पनि अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

सार्वजनिक जग्गा गैरकानुनी रूपमा व्यक्तिका नाममा दर्ता गराउने कार्यमा संलग्न रहेको आरोपमा अख्तियारले उनीहरूलाई प्रतिवादी बनाइएको हो ।