काठमाडौं - नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले संसद्को बैठक तत्काल बोलाउन आग्रह गरेका छन् । सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग आज भेटी उनले समसामयिक राजनीतिक विषयमा छलफल गर्नुपर्ने भन्दै बैठक बोलाउन आग्रह गरेका हुन् ।

अध्यादेशमार्फत विषयहरू अघि बढाउनु लोकतन्त्रको मर्मअनुकूल नहुने उल्लेख गर्दै नेता आङ्देम्बेले भोटेकोशी बाढी प्रभावितका विषयमा पनि सभामा छलफल गर्नुपर्ने आवश्यकता औँल्याए ।

आजै  सभामुख अर्यालसँग नेकपा (एमाले) संसदीय दलका उपनेता पद्मा अर्याल र गुरु बरालले भेट गरे । सभामुखको कार्यकक्षमा भएको भेटमा उनीहरूबीच समसामयिक राजनीतिक तथा संसदीय विषयमा छलफल भएको थियो ।