काठमाडौं - शिक्षा तथा खेलकुद मन्त्री एवं सरकारका प्रवक्ता सस्मित पोखरेलले पत्रकारमाथि भएको धरपकडबारे प्रधानमन्त्री तथा सरकारलाई पूर्वजानकारी नरहेको बताएका छन् ।
मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न मंगलबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता पोखरेलले पत्रकारलाई नियन्त्रणमा लिइएको घटनाबारे सरकारलाई पहिले नै जानकारी नभएको स्पष्ट पारेका हुन् ।
उनका अनुसार पत्रकारमाथि धरपकड भएको जानकारी पाउनासाथ प्रधानमन्त्रीले उनीहरूलाई हिरासतमा नराख्न र तत्काल रिहा गर्न निर्देशन दिएका थिए ।
यसअघि पत्रकारलाई नियन्त्रणमा लिइएको विषयमा अनभिज्ञता जनाएका प्रवक्ता पोखरेलले पत्रकारहरूलाई गिरफ्तार वा नियन्त्रणमा लिइएको नभई संवेदनशील सूचना चुहावटसम्बन्धी विषयमा बुझ्नका लागि मात्र सोधपुछ गरिएको बताएका छन् ।
उनले घटनाका क्रममा कुनै गैरकानुनी कार्य भएको भए वा गृह मन्त्रालयले हस्तक्षेप गर्नुपर्ने अवस्था देखिएमा मन्त्रालयले आवश्यक थप कारबाही गर्ने पनि बताए ।


0 comment