काठमाडौं - धनुषाको नगराइन नगरपालिका–९, घोरघासका गौरीशंकर पण्डितले आन्तरिक राजस्व विभागको करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत लक्की ड्रमार्फत १० लाख रुपैयाँको बम्पर उपहार जितेका छन् ।
पण्डितले ललितपुरको धापाखेलस्थित बिगमार्टबाट ४१५ रुपैयाँको तोरीको तेल खरिद गरेका थिए । खरिद गरेको सामानको भुक्तानी उनले ई–सेवामार्फत गरेका थिए । सोही कारोबारका आधारमा प्राप्त कुपनमार्फत उनी १० लाख रुपैयाँको बम्पर उपहार विजेता बनेका हुन् । उनको कुपन नम्बर ०९८०४६५५८१७५ रहेको छ ।
सरकारी जागिर खाने लक्ष्यसहित एक वर्षअघि काठमाडौं आएका पण्डित हाल ललितपुरको ग्वार्कोमा डेरा गरी बस्दै आएका छन् । उनी दिनभर मोटरसाइकल चलाएर पठाओ, इनड्राइभ र याङ्गोमार्फत यात्रु सेवा प्रदान गरी जीविकोपार्जन गर्छन् । फुर्सदको समय भने लोक सेवा आयोगको परीक्षाको तयारीमा खर्चिने गरेका छन् ।
आन्तरिक राजस्व विभागका महानिर्देशक डा. भीष्मकुमार भुसालले फोन गरेर १० लाख रुपैयाँको बम्पर उपहार जितेको जानकारी गराउँदा पण्डित खुसीले दंग परेका थिए । सामान्य खरिदबाट ठूलो रकमको उपहार प्राप्त हुँदा आफू अत्यन्तै खुसी भएको उनले बताएका छन् ।
आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत कात्तिक १ देखि १५ गतेसम्मको अवधिका विजेता घोषणा गरेको हो । सोमबार आयोजित कार्यक्रममा एक जना बम्पर उपहार विजेतासहित १५ जना अन्य विजेता घोषणा गरिएको विभागले जनाएको छ ।
कार्यक्रमअन्तर्गत बम्पर उपहार विजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछन् भने अन्य १५ जना विजेताले जनही एक लाख ३३ हजार ३३४ रुपैयाँका दरले पुरस्कार पाउनेछन् ।
करदाता प्रोत्साहन कार्यक्रममार्फत विद्युतीय भुक्तानीलाई प्रोत्साहन गर्ने र उपभोक्तालाई सामान तथा सेवा खरिद गर्दा अनिवार्य रूपमा बिल लिने बानीको विकास गराउने विभागको उद्देश्य रहेको छ ।


0 comment