काठमाडौं - पृथ्वी राजमार्गअन्तर्गत धादिङको मझिमटार खण्डमा सोमबार ३ घण्टा सवारी आवागमन पूर्ण रूपमा बन्द रहने भएको छ।
जिल्ला प्रशासन कार्यालय धादिङले एक सूचना जारी गर्दै आकाशे पुल निर्माण तथा सडक स्तरोन्नतिको कामका लागि बन्द गर्न लागेको जनाएको छ । बेनीघाट रोराङ गाउँपालिका वडा नं. ९ स्थित मझिमटारमा आकाशे पुल निर्माण तथा सडक स्तरोन्नतिको काम गर्न लागिएको छ ।
नागढुङ्गा–मुग्लिङ सडक योजना (पश्चिम खण्ड) मुग्लिङ, चितवनलाई उद्धृत गर्दै प्रशासन कार्यालयले सोमबार दिनको ११ बजेदेखि दिउँसो २ बजेसम्म उक्त स्थान भएर चल्ने सम्पूर्ण सवारीसाधनको आवागमन पूर्ण रूपमा बन्द रहने जनाएको छ ।
सो अवधिभर वैकल्पिक मार्ग प्रयोग गरी सवारीसाधन सञ्चालन गर्न गराउन अनुरोध गरिएको छ ।


0 comment