काठमाडौं — पोखरा महानगरपालिका–१४ वडा कार्यालयमा कार्यरत दलित महिला कर्मचारीमाथि जातीय विभेद गरेको आरोपमा जनप्रतिनिधिसहित तीनजनालाई कास्की प्रहरीले पक्राउ गरेको छ । कार्यालय सहयोगी गंगा विकले दिएको जाहेरीका आधारमा वडा सदस्य  कृष्णहरि काफ्ले, कार्यालय सहयोगी अम्बिका भण्डारी र देवी विकलाई प्रहरीले पक्राउ गरेको हो । 

भण्डारीले जातकै आधारमा भान्सामा पस्न र खाना पकाउन रोक लगाएको भन्दै विकले जिल्ला प्रहरी कार्यालय कास्कीमा २२ असोजमा जाहेरी दिएकी थिइन् । कार्यालयको भान्सामा आफूलाई चिया पकाउन, खाना पकाउन र पानी दिने कामसमेत गर्न नदिइएको उल्लेख गरेकी छन् ।

जाहेरीअनुसार भण्डारीले १२ असोजमा ‘गंगा दिदी आजबाट १६ दिन बार्ने भनेका छन् । तपाईंले चिया पकाउने, खाना पकाउने, पानी दिने काम नगर्दिनुहोला । पितृकार्य हो, आजबाट १६ दिनसम्म पानी भान्सा नछोइदिनुहोला’ भनेकी थिइन् ।

विकले आफूलाई यस्तो निर्देशन कसले दिएको हो भनेर सोध्दा कार्यवाहक वडाध्यक्षसमेत रहेका काफ्ले लगायतले भनेको जवाफ पाएको जाहेरीमा उल्लेख गरेकी छन् । आफूले काम गर्ने सार्वजनिक कार्यालयमै जातका आधारमा जिम्मेवारी पूरा गर्न रोक लगाइएको उनको भनाइ छ ।

विकका अनुसार उनी ०५९ सालदेखि पोखरा महानगरपालिकामा कार्यालय सहयोगीका रूपमा कार्यरत छिन् । करिब पाँच महिनाअघि वडा नम्बर १४ मा सरुवा भएर काम गर्न थालेकी थिइन् । घटनाको दिन कार्यालय सरसफाइ गरेर पानी खान भान्साकोठामा जाँदा आफूलाई १६ दिनसम्म भान्सामा नछिर्न भनिएको उनले जाहेरीमा उल्लेख गरेकी छन् । घटनाबारे वडा कार्यालयमै कार्यरत कर्मचारी र जनप्रतिनिधिलाई जानकारी गराउँदा पनि समस्या समाधान नभएको उनको दाबी छ । 

विकले आफूलाई सार्वजनिक सरकारी कार्यालयमा समेत जातका आधारमा काम गर्न निषेध गरिएको भन्दै जातीय तथा अन्य छुवाछुत र भेदभाव (कसुर र सजाय) ऐन, २०६८ अनुसार कारबाहीको माग गरेकी छन् । घटनाको अनुसन्धान गरी दोषीलाई कानुनबमोजिम कारबाही गर्न र आफूलाई क्षतिपूर्ति दिलाउनसमेत उनले माग गरेकी छन् ।

यो घटना दशै अघिको भए तापनि प्रहरीले अहिले मात्रै पीडकलाई पक्राउ गरेको छ । बुधबार वडा सदस्य र दुई कर्मचारीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डीएसपी वीरेन्द्रकुमार पासवानले जानकारी दिए । ’कास्की अदालतबाट सात दिनको म्याद थपेर हिरासतमा राखेका छौं,’ उनले भने, ’घटनाबारे थप अनुसन्धान हुँदै छ ।’ उनले भने । 

वडाध्यक्ष बोधबहादुर कार्कीले भने घटना हुँदा आफू पोखराबाहिर रहेको प्रतिक्रिया दिए । फर्किएपछि कार्यालयमै दुवै पक्षबीच छलफल गराएको उनको भनाइ छ । ’दुवै पक्षबीच छलफल गर्दा गंगा विकले कानुनी बाटो नै रोज्ने अडान लिनुभयो,’ उनले भने, ’हामी प्रहरीको अनुसन्धानमा सहयोग नै गर्छौं ।’

दशै अघि भएको घटनामा अहिले प्रहरीले चासो दिदा यसमा न्याय पाउनेमा आसंका रहेको सरोकारवाला पक्षको भनाई छ । यस घटनामा दलित अधिकारकर्मीसँग पनि पहिला नै छलफल भएको र यसको समाधान कानुनी उपचार नै हो भन्ने निर्णय भएको थियो । दलित समुदायमाथी जातीय विभेदका घटना निरन्तर छन तर बालेन सरकारले समेत जातीय विभेदमा विश्वासघात गरेको दलित अधिकारकर्मीहरु बताउछन ।