काठमाडौं - भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले भूमिहीन दलित, सुकुमवासी तथा अव्यवस्थित बसोबासीले लालपुर्जा पाउनु राजनीतिक आश्वासन नभई उनीहरूको अधिकार भएको बताएकी छन् ।
भूमिहीन, सुकुमवासी तथा अव्यवस्थित बसोबासीका समस्या र लालपुर्जा वितरण प्रक्रियाबारे छलफल गर्न तथा उनीहरूका गुनासा सुन्न चितवन पुगेकी मन्त्री रावलले आज भरतपुर महानगरपालिका–११, गणेशस्थानमा स्थानीयसँग छलफल गर्दै विगतमा लालपुर्जा वितरणको विषयलाई राजनीतिक लाभका लागि प्रयोग गरिएको उल्लेख गरिन् ।
उनले भनिन्, “लालपुर्जा र राजनीतिलाई सँगै जोड्नु हुँदैन । तपाईंहरूले लालपुर्जा पाउनुपर्छ, त्यो तपाईंहरूको अधिकारको कुरा हो ।” मन्त्री रावलले भूमिहीन तथा सुकुमवासीलाई लालपुर्जा वितरणमा रहेका नीतिगत बाधा सरकारले अध्यादेशमार्फत हटाइसकेको उल्लेख गर्दै अब प्रक्रिया छिटो अघि बढाउन स्थानीय तह र भूमि समस्या समाधानसम्बन्धी समितिलाई आग्रह गरिन् ।
उनले भनिन्, “अब नीतिले तपाईंहरूको हकमा लालपुर्जा दिन रोक्दैन, अब नियतको कुरा हो । स्थानीय तहले प्रक्रिया छिटो अघि बढाउनुपर्छ र भूमि समितिले काम शीघ्र टुङ्ग्याउनुपर्छ ।”
मन्त्री रावलले लालपुर्जा वितरणमा भएको ढिलाइका कारण भूमिहीन तथा सुकुमवासीले लामो समयदेखि दुःख भोग्नुपरेको बताउँदै उनीहरूलाई छिटोभन्दा छिटो लालपुर्जा उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको स्पष्ट पारिन् ।
छलफलका क्रममा स्थानीयले आफ्ना समस्या तथा गुनासा मन्त्रीसमक्ष राखेका थिए । सरकारले आफूहरूका समस्या समाधानका लागि पहल थालेको भन्दै उनीहरूले मन्त्री रावलप्रति आभार व्यक्त गरेका थिए । मन्त्री रावलले चितवनका सबै स्थानीय तहमा पुगेर भूमिहीन, सुकुमवासी तथा अव्यवस्थित बसोबासीका समस्या र गुनासा सुन्ने कार्यक्रम रहेको छ । उनले स्थानीयका समस्या सुनी समाधानका लागि सम्बन्धित सरोकारवालासँग छलफल गरी तत्कालै समस्या समाधानका गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।


0 comment