काठमाडौं - स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय अनुशासन आयोगले  सांसद खगेन्द्र सुनारको महिला हिंसासम्बन्धी अडिओ प्रकरणमा छुट्टै छानबिन समिति गठन गरेको छ।

आज (बिहीबार) बसेको अनुशासन आयोगको बैठकले अडिओ/भिडिओको प्राविधिक जाँच गर्न आयोगका उपप्रमुख हरिचन्द्र भट्टराईको संयोजकत्वमा छानबिन समिति गठन गरेको हो।

सुनारको भनिएको अडिओ सार्वजनिक गर्ने सम्बन्धित सञ्चारमाध्यमलाई पत्र पठाइने र आवश्यक परे भिडिओको प्राविधिक परीक्षण गर्ने विषयमा आज छलफल भएको छ ।  आरोपित सुनारले अडिओको स्वर आफ्नो होइन भनेर इन्कार गरेका कारण यसको प्राविधिक जाँच गर्नुपर्ने अवस्था सिर्जना भएको हो।

अनुसन्धानका बाँकी काम अब छानबिन समितिले गर्ने र रायसहितको प्रतिवेदन केन्द्रीय अनुशासन आयोगलाई दिनेछ।  एक महिलालाई अश्लील शब्दमा गाली गर्दै पैसा मागेको अडिओ संवाद सार्वजनिक भएपछि सांसद सुनार विवादमा तानिएका हुन्।