काठमाडौं - नेपालीहरूको महान् चाड बडादसैँ सुरु भएसँगै सुरक्षा व्यवस्थालाई थप कडा पारिएको छ। विस्फोटक पदार्थ तथा लागुऔषधको ओसारपसार हुनसक्ने सम्भावनालाई मध्यनजर गर्दै नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा तालिम प्राप्त कुकुरको सहयोगमा सवारीसाधन जाँच गर्न थालिएको छ।

जिल्लामा भित्रिने तथा बाहिरिने सवारीसाधनलाई लक्षित गरी मङ्गलबार बिहानदेखि तालिम प्राप्त कुकुरसहित सुरक्षा जाँच सुरु गरिएको हो। पूर्वतर्फबाट जिल्ला प्रवेश गर्ने र जिल्लाबाट बाहिरिने विभिन्न प्रकारका सवारीसाधनमा विस्फोटक पदार्थ तथा लागुऔषधको सम्भावित ओसारपसार नियन्त्रण गर्ने उद्देश्यले जाँचलाई तीव्रता दिइएको छ।

चाडपर्वका बेला हुनसक्ने आपराधिक गतिविधि नियन्त्रण तथा यात्रुको सुरक्षा सुनिश्चित गर्न सवारीसाधन जाँचमा कडाइ गरिएको हो।