काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक कवीन्द्र बुर्लाकोटीले अडियो प्रकरणमा दोषी देखिए सांसद खगेन्द्र सुनारमाथि कारबाही हुने स्पष्ट पारेका छन् ।

मंगलबार काठमाडौंमा सञ्चारकर्मीसँग कुरा गर्दै बुर्लाकोटीले सुनारको अडियो प्रकरणबारे पार्टीको केन्द्रीय अनुशासन आयोगले छानबिन सुरु गरिसकेको जानकारी दिँदै दोषी देखिए कारबाही हुने स्पष्ट पारेका हुन् । उनले छानबिन प्रक्रिया टुङ्गोमा नपुग्दासम्म सुनारलाई पदीय हैसियतमा कुनै पनि औपचारिक कार्यक्रमहरूमा सहभागी नहुन निर्देशन दिइएको बताए ।

केही प्रमाणहरूसहित बाहिर देखिएकाले अडिओ सही वा नक्कली  के हो भन्नेबारे विस्तृत छानबिन गर्न आयोगलाई जिम्मा दिइएको उनले बताए । उनले अडियो प्रकरणमा राज्यका कानुनहरू आकर्षित भए राज्यका सरकारी निकायहरूले गर्ने अनुसन्धानमा पार्टीको तर्फबाट पूर्ण सहयोग रहने प्रतिबद्धता जनाए ।

उनले अनुशासन आयोगले दोषी नदेखेमा वा गल्ती नभएको पाइएमा केही नहुने तर गल्ती देखिएमा पार्टी नियमानुसार कारबाही हुने उल्लेख गरे ।