काठमाडौं - राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले ‘भोटेकोशी तथा कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समिति’का सभापति कृष्णप्रसाद पौडेललाई आज पद तथा गोपनीयताको शपथ गराए।
राष्ट्रियसभाको यही असोज १६ गते बसेको बैठकले राष्ट्रियसभा नियमावली, २०७५ को नियम १६७ बमोजिम एक सदस्यपछि थप गर्ने गरी नौ सदस्यीय विशेष समिति गठन गरेको थियो । समितिको सभापतिमा पौडेल निर्विरोध निर्वाचित भएका थिए ।
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमलगायतको उपस्थितिमा सिंहदरबारस्थित संसदीय समिति कक्षमा उक्त शपथ ग्रहण कार्यक्रम आयोजना गरिएको हो । शपथ ग्रहणपछि सभापति पौडेलले आजै विशेष समितिको बैठकसमेत राखे।
सभापति पौडेलले भोटेकोशी र कालीगण्डकी करिडोरमा भएको विपद्बाट नागरिक, बालबालिका, महिला, सुत्केरी तथा अपाङ्गता भएका व्यक्तिले भोग्नुपरेको दुःख, कष्ट र पीडालाई ध्यानमा राखेर समितिले काम गर्ने बताए । उनले भविष्यमा त्यस्ता विपद् आउँदा तिनको गति र त्यसबाट हुने क्षति न्यूनीकरण गर्न तथ्य, तथ्याङ्कमा आधारित अध्ययन गरी प्रतिवेदन तयार गर्ने प्रतिबद्धता व्यक्त गरे।
“हामी तीन महिनाको समयमा अहोरात्र खटेर मुलुक र त्यहाँका नागरिकको हितका लागि एउटा अनुकरणीय काम गर्ने योजना छ”, सभापति पौडेलले भने, “तथ्य र तथ्याङ्कमा आधारित, राष्ट्रिय तथा अन्तरराष्ट्रिय रूपमा विश्वास गर्न सकिने र कार्यान्वयनमा ल्याउन सकिने किसिमको प्रतिवेदन तयार गर्छौं ।” उनले आवश्यकताअनुसार विषयविज्ञको सहयोग लिएर राष्ट्रिय तथा अन्तरराष्ट्रिय अभ्याससमेत अध्ययन गरी कार्यान्वयन गर्न सकिने प्रतिवेदन तयार गर्ने बताए ।


0 comment