काठमाडौं - ट्याक्सी ड्राइभरलाई हतियार देखाई लुटपाट गरेको अभियोगमा चारजना पक्राउ परेका छन्। गएराति करिब ११ बजे मूलपानीबाट गुण्डु आउने क्रममा आफूहरू चढेको ट्याक्सी ड्राइभरलाई उनीहरूले लुटपाट गरी फरार भएका थिए।

पक्राउ पर्नेमा दोलखा वैतेश्वर घर भई हाल सूर्यविनायक-७ गुण्डु बस्ने १९ वर्षिय सौरभ मगर, दोलखाको कालिन्चोक घर भई हाल गुण्डु नै बस्ने वर्ष २० को अस्मित गजमेर, रामेछापको मन्थली घर भई हाल दधिकोट बस्ने १९ वर्षका नविन राउत र काठमाडौँ किर्तिपुरका ३० वर्षिय निल कुमार बस्नेत रहेका जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी दिपककुमार कार्कीले जानकारी दिए। 

उनीहरूले गुण्डु लैजादै गरेको बा २ ज ८६४२ नं. को ट्याक्सी चालकलाई सूर्यविनायक-४ अनन्त लिङगेश्वर खड्का गाँउ नजिक जङ्गलको बाटोमा रोकी धारिलो हतियार (खुँडा र चुप्पी) देखाई नगद र मोबाईल लुटपाट गरी फरार भएका डिएसपी कार्कीले बताए। ट्याक्सी ड्राइभरको उजुरीका आधारमा प्रहरी प्रभाग दधिकोटबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको बताइएको छ। 

चारैजना माथि बुधबार डाकाँ चोरी मुद्दामा जिल्ला अदालत भक्तपुरबाट पाँच दिन  म्याद थप गरी आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरी नायब उपरीक्षक कार्कीले बताएका छन्।