काठमाडौं - नेकपा एमालेका सांसद गुरु बरालले वर्तमान सरकारको ६ महिनाको अवधिमा नयाँ परिणाम दिन नसकेको टिप्पणी गरेका छन् ।

मंगलबार संसद भवन सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै सांसद बरालले प्रभावकारी काम गर्ने भन्दै गठन भएको नयाँ सरकारले ६ महिनाको अवधिमा नयाँ परिणाम दिन नसकेको टिप्पणी गरेका हुन् । उनले सरकार बनेको सुरुवाती दिनमै सुकुम्बासी बस्तीमा डोजर चलाएर आतंक सिर्जना गरिए पनि हालसम्म उनीहरूको उचित व्यवस्थापन हुन नसकेको बताए ।

संस्थानहरूमा राजनीतिक हस्तक्षेप र नियुक्ति गरिएको तथा पुरानै व्यवस्था ब्युँताउने विधेयक सदनमा ल्याइएको उनको भनाइ छ । त्यस्तै सांसद बरालले सरकार तथा प्रधानमन्त्री प्रतिनिधि सभाप्रति जवाफदेही हुन नसकेको र सार्वजनिक रूपमा उठेका प्रश्नहरूको सदनमा उपस्थित भएर जवाफ नदिएको उल्लेख गरे । 

उनले बजारमा महँगी, मिसावट, कृत्रिम अभाव नियन्त्रण हुन नसकेको तथा नागरिकलाई आधा सिलिन्डर ग्यास समेत सहज रूपमा दिन नसकेको बताए। भोटेकोशी, रसुवा, नुवाकोट, धादिङ, चितवन लगायतका क्षेत्रमा बाढी र विपद्बाट हजारौँ जनता पीडित भएको र उद्धार/खोजी कार्यमा सरकार अलमलिएको उनले बताए ।